साझा यातायाताको सिको गर्दै बाग्लुङको सहकारीले चलायोे बस



काठमाडौं । काठमाडौं एवम् शहर केन्द्रीत सहकारी संस्था नाफा कमाउन मात्रै केन्द्रीत भइरहेको बेला राजधानी बाहिरको एक सहकारी संस्था सार्वजपिनक यातायाताको क्षेत्रमा समेत हाल हालेको छ ।

काठमाडौं उपत्यकाका साझा यातायात सहकारी संस्थाले सार्वजनिक यातायाता सञ्चालन गरिरहेको छ । सोही कामलाई सिको गर्दै बागलुङको एक सहकारीले पनि यातायात सेवा सञ्चालनमा ल्याएको हो ।

बाग्लुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिए ।

बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका छौ , उनले भने –आफ्ना शेयर सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।

बागलुङ बजारदेखि बिहु, सुल्डाँडा हुँदै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई ११० रुपैयाँ र अन्य यात्रुलाई रु १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिए । लालिगुरास बहुउद्देश्यीय सहकारीमा लेखानीका १ हजार १०० शेयर सदस्य र १ करोड ५८ लाख शेयरपूँजी रहेको छ ।


क्लिकमान्डु