प्रभु बैंकको नाफा ४.२१ प्रतिशतले बढ्यो, अन्य विवरण कस्ता ?



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४.२१ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तमा १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ४ करोड ३९ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ पुर्याएको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा पनि १२.९४ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ३३ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा १७ करोड २३ लाख रुपैयाँले बढाएर १ अर्ब ५० करोड ४२ लाख रुपैयाँमा पुर्याएको छ ।

यसैगरी, गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन ९.४९ प्रतिशत र कर्जा लगानीतर्फ १०.३६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले ब्याज आम्दानीमा गत आवको ६ महिनाको तुलनामा १४.१२ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा २ अर्ब १५ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३० करोड ४१ लाख रुपैयाँले ब्याज आम्दानी बढाएर २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ पुर्याएको हो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.६५ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा २.४७ प्रपतशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिको यस्तो अनुपात ३.१२ प्रतिशत पुगेको छ ।

साथै पुस मसान्तसम्म बैंकको आधार दर ८.८६ प्रतिशत, स्प्रेड दर ५.३३ र सीसीडी रेसियो ७५.०४ प्रतिशत र कष्ट अफ फण्ड ६.४४ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा, मूल्य आम्दानी अनुपात १०.५० गुणा छ ।


क्लिकमान्डु