खराब कर्जा घट्दा कृषि विकास बैंकको खुद नाफा २२.८० प्रतिशतले बढ्यो



काठमाडौं । कृषि विकास बैंक चालु आर्थिक वर्षको ६ महिनामा ब्याज आम्दानी ९.२५ प्रतिशतले घटेको छ ।

गत आवको ६ महिनामा ३ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ३२ करोड ३३ लाख रुपैयाँ घटेर ३ अर्ब १७ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी घट्नुको मुख्य कारण बैंकको स्प्रेड घट्नु रहेको छ । गत आवको पुस मसान्तमा ६.७३ प्रतिशत स्प्रेड कायम गरी कर्जा लगानी गरेको बैंकले चालु आवको सोही अवधिमा स्प्रेड रेट ५.२९ प्रतिशत कायम गरी  कर्जा लगानी गरेको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले गत आवको पुस मसान्तको तुलनामा ब्याज आम्दानी घटाए पनि खराब कर्जा अनुपात घटाएर अन्य आम्दानीमा सुधार गरेर खुद नाफा बढाएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.५० प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ ।

बैंकले चालु आवको ६ महिनामा खुद नाफामा २२.८० प्रतिशतले वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा २९ करोड ३६ लाख रुपैयाँले बढाएर १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ पुर्याएको छ । साथै सो अवधिमा बैंककोे सञ्चालन मुनाफामा पनि १६.०७ प्रतिशतको वृद्धि देखिएको छ ।

गत आवको ६ महिनामा १ अर्ब ७० करोड ९५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको हो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ छ ।

यस्तै, बैंकले चालु आवको पुस मसान्तसम्ममा १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधीमा बैंकले १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

हाल १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र सेयरधनी कोषमा ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँ सञ्चित छ । बैंकको कष्ट अफ फण्ड ७.२० प्रतिशत र बेसरेट १०.१७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा, मूल्य आम्दानी अनुपात १२.०१ गुणा र तरलता अनुपात २९.६३ प्रतिशत छ ।


क्लिकमान्डु