कोराना भाइरस प्रभावः व्यापार ठप्प हुँदै चिनियाँ पर्यटक आउन छाडे, आर्थिक बृद्धिदरमै असर गर्न सक्ने



काठमाडौं । चीनमा महामारीको रुपमा लिएको ‘नोबेल कोरोना भाइरस’ले चीनको आर्थिक वृद्धिदर २ प्रतिशतले घट्ने प्रक्षेपण आएको छ ।

सीएनएनका अनुसार ‘कोरोना भाइरस’का कारण ६० अर्ब अमेरिकी डलरको आर्थिक नोक्सानी चीनले बेहोर्नु परेको जनाएको छ ।

विश्वको दोस्रो ठूलो आर्थिक शक्तिमा चीनमा फैलिएको महामारीले विश्वको आर्थिक वृद्धिदरलाई असर पार्ने देखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मनाएर २० लाख पर्यटन ल्याउने तयारी गरेको नेपाललाई यसको सिधा असर पर्ने देखिएको छ । जसको प्रभाव वर्षको पहिलो महिना जनवरीदेखि नै देखिएको छ ।

सन् २०१९ को तुलनामा सन् २०२० को जनवरी महिनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा १२ प्रतिशतले कमी आएको छ ।

साथै, यसको असर आगामी महिनामा देखिने निश्चित छ । नेपाल आउने पर्यटनको कुल संख्यामा भारतपछि चीन दोस्रो स्थानमा छ ।

तर चीनबाट आउने पर्यटकको संख्या वर्षको पहिलो महिनादेखि नै घट्न थालेसँगै २० गन्तव्यको विकल्प खोज्नुपर्ने देखिएको छ ।

यद्यपि यसबारेमा होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल पर्यटन बोर्डले साझा धारणा राख्ने तयारी गरेका छन् । कोरोनाको संक्रमण बढेसँगै चीनबाट नेपाल आउने पर्यटकको संख्या कम हुँदा नेपालका होटलमा समेत यसको असर देखिएको छ ।

हानका उपाध्यक्ष विनायक शाहले नेपाल होटल क्षेत्रका लागि सिरियस इस्यु नभएका पनि यसले होटल क्षेत्रमा असर भने गरेको बताए । यसबारेमा हान र पर्यटन बोर्डले मंगलबार धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा उडान गर्दै आएका चिनियाँ एयरलाइन्स र नेपालको हिमालयन एयरलाइन्सले आफ्नो उडान कटौती गरिसकेका छन् । हिमालयले चीनका ५ गन्तव्यमा उडान गदै आएकोमा ३ वटा गन्तव्यमा उडान कटौती गरिसकेको छ ।

चीनबाट पर्यटक कम आउनासाथ यसको असर नेपालको पर्यटन क्षेत्रमा पर्छ । होटलहरुमा चिनियाँहरुको आप्रवहा कम हुन्छ जसले गर्दा बैंकको ऋण लिएर होटलमा लगानी गरेका उद्यमीलाई ऋण तिनै नै मुस्किल पर्न सक्छ । पछिल्लो समय होटलहरुमा १ खर्बभन्दा बढीको बैंक तथा वित्तीय संस्थाले ऋण दिएका छन् ।

द्विपक्षीय व्यापारमा भारतपछि सबैभन्दा बढी सामान चीनबाट आउने गर्छ ।

चीनबाट सामान आउने प्रमुख नाका रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ । जसका कारण नेपाल र चीनबीच व्यापार नै ठप्प हुने भएको छ । व्यापार ठप्प भएपछि लसुनको मूल्य आकाशिएको छ ।

नेपाल चेम्बर अफ कमर्शका सचिव सन्तोष पाण्डे कोराना भाइरसको कारण चीनसँगको व्यापार तथा पर्यटनमा ठूलो असर पर्ने र लगानीकर्ता डराउनुपर्ने अवस्था आएको बताउँछन् ।

‘व्यापारदेखि लगानीसम्मको कुरा यो माहामारीले प्रभाव पार्ने देखिन्छ, चेम्बरमासाथीहरुले व्यापारमा ठूलो नोक्सान हुने कुरा हामीसँग गर्नु भएको छ,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट १ खर्ब १८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जसमा रसुवागढी भन्सारबाट २४ अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । कपडा तथा खाद्यान्य सामग्री रसुवागढी भन्सारबाट आउने गर्छ ।

अन्य कपडा तथा उपभोग्य वस्तुको समेत आयात ठप्प हुने अवस्थामा पुगेको छ ।

नेपालमा सबैजसो ठूला निर्माणको जिम्मा चिनियाँ निर्माण व्यवसायीले लिएका छन् । जसमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनादेखि लिएर पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्म छन् । निजी जलविद्युत् आयोजनाको निर्माणको धेरै काम पनि चिनियाँ निर्माण व्यवसायी मातहत रहेको छ ।

कोराना भाइरसको कारण चीन गएका ती आयोजनाका कामदार तथा उच्च पदमा कार्यरत कर्मचारीहरु फर्कने वातावरण छैन । जसका कारण ती आयोजनाको निर्माण अवधि पछाडि धकेलिने सम्भावना बलियो बनेको छ ।

यी आयोजना पछाडि धकेलिँदा नेपालको आर्थिक वृद्धिदरमा नै असर पर्ने सक्ने देखिएको छ ।

नेपाल चाइना चेम्बर अफ कमर्शका महासचिव विवेक पौडेल व्यापारदेखि पर्यटन तथा समग्र अर्थतन्त्रमा चीनमा देखिएको कोराना भाइरसको असर नेपालमा पर्ने देखिएको बताउँछन् ।

‘चीनबाट नेपालमा आउनको लागि बुकिङ गरेका पर्यटकले आफ्नो बुकिङ रद्द गरेका छन्, भन्सार नाका ठप्प भएपछि निर्माण क्षेत्रमा काम रोकिने अवस्था आएको छ, नेपालको निर्माण क्षेत्रमा काम गर्ने चिनियाँ कर्मचारी चीनमा नै रोकिएको अवस्था छ,’ पौडेलले क्किलमाण्डूसँग भने ।

नेपालमा गतवर्ष डेढ लाख चिनियाँ पर्यटकले नेपालमा भ्रमण गरेका थिए । चिनियाँ पर्यटकको नेपाल आउने अब सिजन समेत शुरु भएको थियो । यो अवस्थामा अब चिनियाँ पर्यटक अहिलेलाई बढ्ने सम्भावना देखिएको छैन ।


क्लिकमान्डु