भरतपुर बिमानस्थल बिस्तारमा सेनाले पूर्ण सहयोग गर्छः रक्षा मन्त्री पोखरेल



काठमाडौं । चितवनस्थित भरतपुर बिमानस्थल बिस्तारको बारेमा सर्बपक्षीय छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सरोबारवालाहरुसँग भरतपुर बिमानस्थल बिस्तारको सम्भावना र चुनौतीको बिषयमा सर्बपक्षीय छलफल चलाएको हो ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले भरतपुर बिमानस्थलको बिस्तार अपरिहार्य भएको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै मध्यभागमा रहेको चितवनको बिमानस्थलको बिस्तार र स्तरोन्नति अनिवार्य भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले सबै मन्त्रालय र निकायको समन्वयमा यसको लागि काम अघि बढिरहेको भन्दै खुसी व्यक्त गरे । उनले चितवन बिमानस्थलको बिस्तारको लागि पर्यटन मन्त्री भट्टराईले देखाएको तदारुकता र पहलकदमीले कामलाई तिब्रता दिने विश्वास व्यक्त गरे । चितवनको तिब्र शहरीकरण भएको भन्दै उनले सुरक्षित र व्यबस्थित बिमानस्थल अनिवार्य भएको बताए ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले भरतपुर बिमानस्थल बिस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रुपमा सहयोग गर्ने बताए । उनले बिमानस्थल बिस्तारमा सेना समस्या नै नभएको बताए । भरतपुर बिमानस्थल बिस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताए । सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने उनको भनाई छ । सरोकारवाला निकायहरुको सुझावको आधारमा अन्तिम प्रतिवेदन तयार पारी काम अघि बढाइने उनको भनाई छ ।

भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले भरतपुर बिमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई बाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा बिकास गरिनुपर्ने बताइन । उनले चितवन शैक्षिक तथा मेडिकल हबको रुपमा बिकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्याधिक बढिरहेको बताइन् । उनले बिमानस्थल बिस्तारको काममा पर्यटन मन्त्री भट्टराईले गरेको पहलकदमीप्रति खुसी व्यक्त समेत गरिन् ।

छलफल कार्यक्रममा भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिको आबश्यकता, प्राबिधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक रिपोर्ट प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु