४ महिनामा सबैभन्दा बढी रेमिटेन्स कतारबाट ५३ अर्ब ९३ करोड, कुन देशबाट कति ? (सूचिसहित)



काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा सबैभन्दा बढी रेमिटेन्स कतारबाट आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले ४ महिनामा ३ खर्ब ४ अर्ब रुपैयाँको कुल रेमिटेन्स आउदा सबैभन्दा बढी कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँको रेमिटेन्स कतारबाट आएको छ ।

राष्ट्र बैंकले नेपालबाट रेमिटेन्स आउने १२ वटा देशको सूचि समेत सार्वजनिक गरेको छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँको रेमिटेन्स भित्रिएको छ ।

तेस्रोमा रहेको यूएई बाट ४० अर्ब ८७ करोड रुपैयाँको रेमिटेन्स आएको छ । साउदी अरेबिया ३८ अर्ब १५ करोड रुपैयाँको तथा मलेसियाबाट २९ अर्ब ६६ करोड रुपैयाँको रेमिटेन्स आएको छ ।

संयुक्त राज्य अमेरिका २५ अर्ब ४२ करोड रुपैयाँको जापानबाट २२ अर्ब ८७ करोड रुपैयाँ, कुवेत ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड कोरिया ६ अर्ब १५ करोड रुपैयाँ आएको छ । बेलायतबाट ५ अर्ब ४ करोड, अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड रुपैयाँ तथा अन्य मुलुकबाट १८ अर्ब ७ करोड रुपैयाँको रेमिटेन्स भित्रिएको छ ।

रेमिटेन्स पठाउदा २ सय डलरसम्म ४.३ प्रतिशत तथा ५ सय डलरसम्म २.९ प्रतिशत खर्च लाग्ने देखिएको छ । सबैभन्दा बढी खर्च अमेरिकाबाट रेमिटेनस पठाउदा लाग्ने देखिएको छ ।
अमेरिकाबाट नेपालमा २ सय डलरसम्म पठाउदा५.४ र ५ सय डलरसम्म पठाउदा ३.९ प्रतिशत खर्च लाग्ने गरेको छ ।

सबैभन्दा कम खर्च मलेसियाबाट नेपालमा रेमिटेन्स पठाउदा लाग्ने गरेको छ । मलेसियाबाट २ सय डलरसम्म ३.४ र ५ सय डलरसम्म पठाउदा २.९ प्रतिशत खर्च लाग्ने गरेको छ । यस्तै युएईबाट ४ प्रतिशत २ सय डलरसम्म र २.३ प्रतिशत ५ सय डलरसम्म पठाउदा लाग्ने गरेको छ ।
कतारमा ४.३ र साउदी अरेबियामा ४.६ २ सय डलरसम्म र ५ सय डलर पठाउदा भने ३ र २.५ प्रतिशत खर्च लाग्ने गरेको छ ।

बैदेशिक रोजगारीमा गएका कामदारहरुले अमेरिकी डलर २०० वा सो भन्दा कम विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योगदान पुग्ने राष्ट्र बैंकले निचोड निकालेको छ ।

राष्ट्र बैंकले विप्रेषण आप्रवाहको दृष्टिकोणले महत्वपूर्ण रहेको छिमेकी मुलुक भारतको आर्थिक वृद्धिदरमा आएकोकमीका कारण भारतबाट प्राप्त हुने विप्रेषण आप्रवाह प्रभावित हुन सक्ने देखिएको जनाएको छ ।
भारतबाट गत आर्थिक वर्षमा १ खर्ब २८ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो । जसको हिस्सा १४.६२ प्रतिशत थियो । पछिल्लो ५ वर्षमा १० देखि १४.६२ प्रतिशतसम्म कुल रेमिटेन्समा भारतको हिस्सा थियो ।

विश्व अर्थतन्त्रमा आएको सुस्ततासंगै साउदी अरेबियाले निताकत नीति अन्तर्गत साउदी कम्पनीहरुमा साउदी नागरिकहरुलाई रोजगारी प्रोत्साहन गर्न दश जना भन्दा वढी कामदार रहेको प्रतिष्ठानमा निश्चित प्रतिशत स्वदेशी कामदार हुनुपर्ने व्यवस्था गरेको छ । साथै, अन्य खाडी मुलुकहरुले समेत स्वदेशी रोजगारीलाई प्रोत्साहन गरी विदेशी कामदारलाई निरुत्साहित गर्ने नीति अबलम्वन गरेको पाइन्छ । यसवाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आई विप्रेषण आप्रवाहमा समेत प्रतिकुल प्रभाव पर्ने सम्भावना रहन्छ ।

कतार, यू.ए.ई. लगायतका केही खाडी मुलुकहरुले पेट्रोलियम निर्यातमा निर्भरता कम गर्दै व्यापार, पर्यटन र निर्माण क्षेत्रतर्फ आफ्नो अर्थव्यवस्थालाई क्रमशः विविधीकरण गर्दै लगेका छन्। सन् २०२२ मा आयोजना हुने विश्व कप फुटबल प्रतियोगिताको तयारीका लागि कतारको निर्माण क्षेत्रमा उच्च वृद्धि कायमैरहने देखिन्छ । विश्व बैंकका अनुसार सन्२०१९ मा कतारको अर्थतन्त्र २ प्रतिशतले वृद्धि हुनेर मध्यम अवधिमा ३ प्रतिशतभन्दा बढीले वृद्धि हुने प्रक्षेपण गरिएको छ । ढ यू.ए.ई.को पनि मध्यम अवधिमा आर्थिक परिदृश्य सकारात्मक रहेकोर सन् २०२१ मा ३ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।  यी मुलुकहरुमा प्रक्षेपण गरिए अनुसारको वृद्धिदर कायमै रहेमा मध्यम अवधिमा समेत यी मुलुकबाट भित्रिने विप्रेषण आप्रवाहको निरन्तरतामा कमी आउने नदेखिएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०५७/५८ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात १०.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५÷७६ मा २५.४ प्रतिशत पुगेको छ ।

विप्रेषणको रुपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिएतापनि यसले स्वास्थ्य, शिक्षा लगायत घर परिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको छ भने लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ । विप्रेषण आप्रवाहमा कमी आएमा यी सूचकहरुमा समेत प्रतिकुल असर पर्नेजोखिम रहन्छ ।


क्लिकमान्डु