लामो समयपछि सेयर बजारमा हरियाली, बिक्ला त मध्य भोटेकोशीको डेढ अर्बको साधारण सेयर



काठमाडौं । सेयर बजार बल्ल मुर्झाउन थालेको छ । लामो खडेरी पछि वर्षा भए जस्तै भएको छ सेयर बजारमा ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डको भनाईलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको ६ महिनामा निष्काशन गरिएको एक जलविद्युत् कम्पनीको पनि शतप्रतिशत सेयर बिक्री हुन सकेन ।

बजारको अवस्था पनि खासै राम्रो छैन । बोर्डले पनि साधारण सेयर निष्काशनमा ठूलो गिरावट आएको बताएको छ ।

बोर्डको अध्यक्षमा पदवहाली गरिसकेपछि बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष भीष्म ढुंगानाले दिएको जानकारी अनुसार साधारण निष्काशनमा ठूलो गिरावट मात्रै आएको छैन, गत आर्थिक वर्षको ६ महिनाको तुलनामा असाध्यै कम भएको बताए ।

बजार माथि उल्लेख गरिए जस्तै, लामो खडेरीपछि हल्का बर्षा भए जस्तै देखिएको छ । बजार ८ महिना अघिको अवस्थामा पुगेको छ । बजार १ हजार ३०० माथि पुगेको छ । तर यो दीर्घकालीन हो कि सामानय प्रक्रिया मात्रै हो भनेर निष्कर्ष निकालने अवस्था भने भइसकेको छैन ।

यही सन्दर्भमा केही ठूला कम्पनीका साधारण सेयर बिक्रीको तयारी भइरहेको छ । यसले बजारलाई कस्तो प्रभाव पार्ला अहिल्यै भनिहाल्ने अवस्था भने छैन ।

केही समय पहिले हिमाल दोलखा हाइड्रो पावरले बिक्री गरेको साधारण सेयरमध्ये मात्रै २१ प्रतिशत मात्रै साधारण सेयर बिक्री भएको थियो । सेयर प्रत्याभूतकर्ताले समेत सो कम्पनीको सेयर उठाउन मानेनन्, अर्थात् चाहेनन् ।

कारण, सेयर बजारमा देखिएको उच्च गिरावट तथा बजारमा खस्किएको मनोविज्ञानले पनि काम गरेको छ । यही क्रममा चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् कम्पनीले ठूलो मात्रामा सेयर बिक्रीको तयारी गरेको छ ।

लामो खडेरी पछि भएको वर्षा जस्तै बजारले गति लिएको अवस्थामा मध्य भोटेकोशीको साधारण सेयर बिक्री हुन सक्ला । तर बजारले गति नलिने र पूर्ववत् अवस्थामा नै रहेको अवस्थामा भने मध्य भोटेकोशीको सेयरको हालत के होला भनेर सामान्य अनुमान भने गर्न मात्रै सकिन्छ, तत्काल निष्कर्ष भने निकाल्न सकिदैन ।

नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीको समेत लगानी रहेको सो कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १ करोड ५० लाख कित्ता साधारण सेयर बिक्रीको तयारी थालेको छ ।

निर्माण व्यवसायीको लापरवाही कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन । चिनियाँ ठेकेदारले तोक अनुसारको काम नगर्दा आयोजना समस्यामा परेको छ ।

समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पटक–पटक प्रयत्न गरेको भएपनि अपेक्षित गति लिन सकेको छैन ।

आयोजनाले गति नलिएको र मात्रै भौतिक प्रगति ४५ प्रतिशतको मात्रै हाराहारीमा रहेको बेला आयोजनाले बिक्री गर्ने साधारण सेयर बिक्री हुनेमा समस्या आउन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

सो आयोजना १०२ मेगावाट क्षमताको हो । आयोजनाले कूल स्वपूँजीको २५ प्रतिशत साधारण सेयर बिक्री गर्न लागेको छ ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर बिक्रीको तयारी भएको हो ।

कम्पनीले केही दिन पहिले मात्रै सेयर बिक्रीका लागि नागरिक लगानी कोषसँग सम्झौता गरेको छ ।

कम्पनीले बिक्री गर्ने सेयरमध्ये प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात ६० लाख कित्ता र सर्वसाधारणका लागि १५ प्रतिशत हुन आउने ९० लाख कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

सेयर निष्काशन गर्ने प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने सञ्चयकर्ताका लागि १ अर्ब १७ करोड बराबरको १ करोड १७ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

यस्तै संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर बिक्री गरेको थियो । ती सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छैन ।


क्लिकमान्डु