प्रहरीले एकैपटक १८०५ पदमा विज्ञापन खुलायो



काठमाडौं । के तपाई नेपाल प्रहरीका विभिन्न सेवामा जागिर खाने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने नेपाल प्रहरीले तपाईका लागि विभिन्न १ हजार ८०५ पदमा विज्ञापन खुलाएको छ ।

बुधबार प्रकाशित सूचनामा नेपाल प्रहरीले १४९ जना इन्सपेक्टर र ५८४ जना असइ र प्राविधिकतर्फ १ हजार ७२ पदमा आवेदन माग गरेको हो । लामो समयपछि नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी कर्मचारी माग गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले आज एक सूचना प्रकाशित गरी ती संख्यामा प्रहरी कर्मचारी माग गरेको हो ।

इन्स्पेक्टरतर्फ खुलामा ८०, अमर अशक्त प्रहरी परिवारबाट ३ जना, महिला १३ जना, आदिवासी जनजाति २१ जना, मधेसी १८, दलित १०, पिछडिएका क्षेत्र ४ गरी कुल १४९ जना माग गरेको हो ।

त्यस्तै, असइतर्फ खुलामा ३१५, अमर अशक्त प्रहरी परिवारबाट १२ जना, महिला ५१ जना, आदिवासी जनजाति ८२ जना, मधेसी ७२, दलित ३९, पिछडिएका क्षेत्र १३ गरी कुल ५८४ जना माग गरेको हो ।

त्यस्तै, प्राविधिकतर्फ प्रहरीले १ हजार ७२ जनाका लागि नयाँ आवेदन माग गरेको छ ।

जसमा सञ्चार निर्देशनालयतर्फ ६११, सूचना प्रविधि निर्देशनालयतर्फ ४३, भौतिक पूर्वाधार निर्देशनालयतर्फ ६३, सवारी महाशाखामा १२६, के नाइन महाशाखामा ५३, हातहतियार मर्मतमा ६, नेपाल प्रहरी अस्पतालमा १९, केन्द्रीय प्रहरी विविध विज्ञान प्रयोगशालामा ७, नेपाल प्रहरी प्रहरी संगित विद्यालयमा १४४ कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले आगामी माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस विज्ञापन


क्लिकमान्डु