विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सस्तो, तिरेको भ्याट रकमको १०% उपभोक्ताको खल्तीमा जाने



काठमाडौं । विद्युतीय प्रणालीबाट सामान खरिदको भुक्तानी गर्दा अब सस्तो पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले विद्युतीय प्रणालीबाट गरिने भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ताको व्यवस्थाको कार्यविधीलाई अन्तिम चरणमा पुर्याएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले कार्यविधीको निर्माणको काम अन्तिम चरणमा रहेको र केही दिनभित्रमा कार्यान्वयनमा आउने बताए ।

अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ मा ल्याएको बजेटमा खरिद गरेको सामानको भुक्तानी विद्युतीय माध्यमबाट गर्दा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा गरेका थिए ।
आन्तरिक राजस्व विभागले कार्यविधी बनाउन नसक्दा घोषणा भएको ७ महिना हुँदापनि यो व्यवस्था कार्यान्वयनमा आएको थिएन ।

विभागले उपभोक्ताले तिरेको भ्याट रकमको १० प्रतिशत फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि भुक्तानी सेवा प्रदायक कम्पनी तथा बैंक तथा वित्तीय संस्था र व्यवसायीसँग छलफल गरेको छ ।

यसको लागि उपभोक्ताले कारोबार गर्ने फर्म तथा कम्पनी विभागले तोकेको बिलिङ सिस्टममा जोडिएको हुनुपर्छ ।

उदाहरणको लागि कुनै व्यक्तिले एउटा पसले गएर १ लाख रुपैयाँको एउटा सामान खरिद गर्यो । त्यसको भुक्तानी विद्युतीय प्रणालीबाट गर्यो भने । उसले तिरेको १३ हजार रुपैयाँ भ्याटमा उसले १३ सय रुपैयाँ फिर्ता पाउने छ ।

तत्कालै क्यास ब्याकजस्तो उसको खातामा फिर्ता जाने प्रणालीको विकास विभागले गर्न लागेको छ ।

विभागका महानिर्देशक कुँवर उपभोक्तालाई सिधै भ्याट फिर्ता दिने व्यवस्थाले नगद रहित कारोबारको व्यवस्थालाई बढाउने बताउँछन् ।

‘उपभोक्तालाई क्यासलेस कारोबार गर्नको लागि प्रोत्साहन मिल्छ भने भ्याट बिल र भ्याटको आकार बढ्ने हाम्रो अनुमान छ,’कुँवरले भने ।

उपभोक्ताले तिरेको १० प्रतिशत क्यासब्याक फिर्ता आएपछि कम मूल्यमा सामान समेत प्राप्त गर्न सक्छन् ।

महानिर्देशक कुँवर भ्याटको सहभागिता बढाउने अपेक्षा योजनापछि लिएको बताउँछन् ।

‘भ्याटको बारेमा जनतालाई बढी जानकारी यसले हुने हाम्रो अपेक्षा छ,जसले गर्दा सहभागिता अझै बढाउन सकिन्छ,’उनले भने ।

विभागले भ्याट फिर्ता दिने विषयमा आफ्नो प्रणालीको समेत विकास गरेको छ । जुन व्यवसायिक फर्महरु जोडिनुपर्ने हुन्छ । जसले गर्दा जुन व्यक्तिको खाताबाट क्यासलेस कारोबार भएको छ उसको खातामा नै प्रणालीले नै तिरेको भ्याट रकमको १० प्रतिशत फिर्ता जाने व्यवस्था मिलेको हुन्छ ।

अर्थमन्त्री खतिवडाले व्यापारीलाई फिर्ता जाने चिनी,मोबाइल तथा तेल उद्योगको भ्याट फिर्ताको व्यवस्था भने खारेज बजेट मार्फत गरेका थिए । यसअघि उपभोक्ताबाट उठाएको भ्याट रकम व्यापारीले फिर्ता लैजाने व्यवस्था थियो ।

अर्थमन्त्रीले सिधै उपभोक्तालाई राहत दिनको लागि उपभोक्तालाई नै भ्याट फिर्ता जाने स्कीम बजेट मार्फत ल्याएका हुन् ।


क्लिकमान्डु