अष्ट्रेलियाको घटनामा योगेश भट्टराईको जवाफ- २ देशबीचको सम्बन्धमा खेल्न खोज्ने नियत गम्भीर छ



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्न अष्ट्रेलिया पुगेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिड्नीको प्रहरीले र्याली रोकेको समाचार काल्पनिक र गलत भएको दाबी गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा भट्टराई सम्मिलित र्यालीलाई सिड्नी प्रहरीले अनुमति नलिएको भन्दै रोकेको समाचार प्रकाशित भएपछि भट्टराईले फेसबुकमार्फत समाचार गलत भएको भन्दै स्पष्टिकरण दिएका हुन् ।

‘काल्पिनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो, नियत गम्भीर छ,’ उनले भने ।

उनले अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूताबासको आयोजना र एनआरएनए लगायत संघ/संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको समेत बताएका छन् ।

न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अष्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितीमा भएको कार्यक्रममा उहाँहरुबाट शुभकामना मन्तव्य व्यक्त भएको भट्टराईले उल्लेख गरेका छन् ।

उनले मौन जुलुसमार्फत् नेपालको पर्यटन वर्षको प्रवद्र्धन गरिएको समेत जानकारी दिएका छन् ।


क्लिकमान्डु