नक्कली भ्याट बिल बनाइ साढे १५ करोडको ठगी, राजश्वले हाल्यो ६ जनाविरुद्ध मुद्दा



काठमाडौं । राजश्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजश्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौंको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत ४ जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित २ जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरेको र शाहले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोप छ ।

उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी १२ करोड ८७ लाख रुपैयाँ बिगो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

यस्तै सन्दीप ट्रेडिङमार्फत् प्रमिलाकुमारी शाहसहित २ जनाले २ करोड ६४ लाख बिगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।


क्लिकमान्डु