१४ वटा परियोजनाको ११ खर्ब ८८ अर्ब रुपैयाँको लगानीको योजना अगाडि बढ्यो



काठमाडौं । लगानी बोर्डले १४ वटा परियोजनाको ११ खर्ब ८८ अर्ब रुपैयाँको लगानीको योजना अगाडि बढेको जनाएको छ । लगानी बोर्डले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा गतवर्ष चैतमा आयोजना भएको लगानी सम्मेलनमा प्रस्तुत भएका आयोजनामा १४ वटा आयोजनाको लगानीकर्ताको संक्षिप्त सूचि तयार भएको जनाएको छ ।

यीमध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको छ ।

सम्मेलनपछि १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ्ग प्लान्ट परियोजनाका लागि कोरियाको मोटेक्ससँग लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रुपैयाँ लागत रहेको चीन(नेपाल मैत्री पार्क निर्माणका लागि समेत समझदारी भएको छ। त्यस्तै, विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कूल लागतको मल्टिमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ।

लगानी बोर्डले अहिले ५ खर्ब ६५ अर्ब रुपैयाँको कुल परियोजना लागत भएका ९ वटा आयोजनाको सहजिकरण गरेको जनाएको छ । १०४ अर्ब लागत भएको अरुण तेस्रोमा एक तिहाई काम सकिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार प्रस्ताव आह्वान गरेका १५ प्रस्तावमा १० वटा परियोजना कार्यान्वयनको लागि अध्ययन चरणमा रहेको र लगानी सम्मेलनको क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारी कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।


क्लिकमान्डु