५ महिनामा साढे ५ खर्ब व्यापार घाटा, निर्यात बढ्दा आयात घट्यो



काठमाडौं । नेपालको वैदेशिक व्यापार सुधारोन्मुख हुँदै गएको छ । वैदेशिक व्यापार घाटा न्यून हुन नसकेपनि आयात भने चालु आर्थिक वर्षको ५ महिनामा ४.२४ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आवको मंसिर मसान्त सम्ममा ६ खर्ब ६ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएकोमा चालु आवको सोही अवधिमा यस्तो आयात ४.२४ प्रतिशतले घटेर ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख रुपैयाँमा सीमित भएको हो ।

यस्तै, विभागको तथ्यांक अनुसार नेपालबाट अन्य देशमा गरिने वस्तु तथा सामानको निर्यात चालु आवको ५ महिनामा २६.९७ प्रतिशतले बढेको छ । गत आवको मंसिर मसान्तसम्म ३७ अर्ब ५० करोड १९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएकोमा सोको परिमाण २६.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

नेपालमा तेस्रो मुलुकबाट गरिने वस्तु तथा सामानको आयातमा खर्च घटेतापनि आयातको तुलनामा निर्यात न्यून हुँदा नेपालले ५ महिनामा ५ खर्ब ६९ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ व्यापार घाटा खेपेको छ । गत आवको सोही अवधिमा व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

मुलुकको कुल व्यापारको हिस्सा आयात निर्यातको विवरण अनुसार चालु आवको ५ महिनामा ९२.४ प्रतिशत छ । गत आवको सोही अवधिमा कुल व्यापार हिस्सा ९४.२ प्रतिशत थियो ।


क्लिकमान्डु