अर्थमन्त्रीको चाहना भन्दै नागरिक लगानी कोषमा खरेलको दबाव, एक वर्षमा ‘युर्टन’
काठमाडौं । डा. रामशरण खरेलले जबरजस्तरुपमा स्टक डिलर कम्पनी खोल्न दबाब बढाएका छन् । राष्ट्र बैंकको अनुसन्धान विभागका निर्देशनसमेत रहेका खरेल नागरिक लगानी कोषका विज्ञ सञ्चालक हुन् ।
अर्थमन्त्री डा. खतिवडाको छोरीज्वाईं समेत रहेका खरेलले ०७४ फागुनदेखि ०७६ असार मसान्तसम्म राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय गएर अर्थमन्त्रीको निजी सचिवालयमा काम गरे ।
अर्थ मन्त्रालयको तर्फबाट विज्ञ सञ्चालकका रुपमा नियुक्त भएका खरेल अर्थ मन्त्रालय छाडेको ६ महिना वित्दा पनि कोषको सञ्चालक भने छाडेका छैनन् ।
यसअघि स्टक डिलर कम्पनी खोल्ने प्रक्रिया अघि बढाउन अवरोध सिर्जना गर्दै आएका खरेल अहिले भने जतिसक्दो चाँडो खोल्नुपर्ने दबाब दिन थालेका छन् ।
‘एक वर्षअघि नै कोषले स्टक डिलरका लागि कार्यविधि र नियमावली बनाएको थियो, त्यसबेला खरेल सरले अहिले हतार छैन भन्नुभयो,’ कोषका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘अहिले उहाँलाई नै हतारो छ ।’
शुरुशुरुमा अर्थमन्त्री डा. युवराज खतिवडा र उनको आर्थिक मामिला सहयोगी खरेल सेयर बजारको बारेमा सुन्न नै चाहँदैन थिए । त्यो समय खरेलले कोषलाई स्टक डिलर खोल्ने प्रक्रिया रोक्न भनेका थिए ।
तर, अहिले बजारमा निरन्तर गिरावट आएको र बजारमा आएको गिरावटका कारण चर्को विरोध हुन थालेपछि अर्थमन्त्री खतिवडा जतिसक्दो चाँडो स्टक डिलर खोल्नु पर्ने बताउन थालेका छन् ।
कोष निकट स्रोतका अनुसार डा. खरेललले गत साता एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका थिए । त्यहाँ एक जना विज्ञलाई बोलाएर सेयर बजारको बारेमा प्रस्तुति पनि गर्न लगाइएको थियो ।
शुरुशुरुमा अर्थमन्त्री डा. युवराज खतिवडा र उनको आर्थिक मामिला सहयोगी खरेल सेयर बजारको बारेमा सुन्न नै चाहँदैन थिए । त्यो समय खरेलले कोषलाई स्टक डिलर खोल्ने प्रक्रिया रोक्न भनेका थिए ।
‘प्रस्तुतीकरण नेपालको सेयर बजारसँग कतैपनि मेल खाने खालको थिएन, विदेशी बजारको विषयमा उहाँले केही कुरा भन्नुभयो । त्यहाँ स्टक डिलरको विषयमा प्रभावकारी कुरा केही आएन । उहाँलाई त्यसको बारेमा जानकारी पनि रहेनछ । खरेल सरले बोलाएको विज्ञको विषयमा कसैले पनि प्रश्न गर्न सकेनन् ।’ कार्यक्रममा सहभागी एकजनाले भने ।
उक्त अन्तक्र्रिया कार्यक्रमपछि खरेलले स्टक डिल्लरमा ज–जसले सहभागी गर्ने भनेका छन्, उनीहरुलाई जबर्जस्तरुपमा समयमा नै कम्पनी खोल्न र काम थाल्न निर्देशन दिएका छन् ।
‘पहिला के–के भयो, त्यसमा ध्यान नदिनू, यसमा मन्त्रीज्यूको पनि निकै चासो छ । अहिलेको बजारको अवस्थाले पनि समस्या भएको छ । यसमा तपाईहरुले पुराना कुरा बिर्सनु, अहिले गम्भिर भएर समयमा नै काम गरिदिनु होला ।’ कार्यक्रममा सहभागी एकले डा. खरेललाई उदृत गर्दै भने ।
खरेलले अर्थमन्त्रीको चाहना भन्दै स्टक डिलरको काम छिटो गर्न भनेपछि कम्पनी दर्ता गर्ने तयारीमा नागरिक लगानी कोष रहेको छ । कोष नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम, बीमा कम्पनी, बीमा संस्थान, निक्षेप कर्जा सुरक्षण केन्द्र र नागरिक लगानी कोषको संयुक्त लगानीमा कम्पनी खुल्ने भएको छ ।
स्रोतका अनुसार पहिला कोषले मात्रै स्टक डिलर चलाउने भन्ने पनि थियो । अहिले ५ अर्ब पुँजीको बनाउने र त्यसमा अन्य कम्पनी पनि थप्न लागिएको छ । पुनर्बीमा कम्पनीले बोर्ड बैठकबाट ५० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरिसकेको बताइएको छ ।