पुनःनिर्माण प्राधिकरणद्वारा लाखबढी गुनासो फर्स्योट, पुसभित्र सबै सकिने



काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला २ बैठकले ७ हजार ४ सय ९४ पुर्ननिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।

समितिको ११ र १३ गतेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, आर्थिक वर्ष २०७५÷०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् ।

त्यसैगरी, बैठकले ३ हजार ७६ प्रवलिकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको प्राधिकरणले जनाएको छ ।

यसअघि, मंसिर तेस्रो साता बसेको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुर्ननिर्माण लाभग्राही थप गरेको थियो । त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबयिलकरण लाभग्राही कायम गरेको थियो ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत संकलित कुल १ लाख ८९ हजार लागतमध्ये हालसम्म हालसम्म १ लाख १३ हजार ४३ वटाको निर्णय भइसकेको जानकारी दिए ।

‘बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पौष मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं,’ उनले भने ।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी २०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।


क्लिकमान्डु