देशैभरी विद्युतको लोड ह्वात्तै बढेपछि प्रणालीमा समस्या, के गर्दै छन् कुलमान घिसिङ ?



काठमाडौं । देशभरी नै चिसो बढेपछि नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणका अनुसार हाल विद्युत् १३४० मेगावाट पुगेको छ ।

जाडोका कारण हिटर तथा कोठा तातो बनाउने विद्युतीय उपकरणको बढी प्रयोग भएपछि विद्युत् माग बढेको हो । विशेष गरी सहरी क्षेत्रमा विद्युत् माग एक्कासी बढेको हो ।

जाडोको समयमा काठमाडौं उपत्यकामा विद्युत् माग बढेर ४०० मेगावाट पुगेको छ । गत वर्ष ३०० मेगावाटको हाराहारीमा रहेको विद्युत् माग १०० मेगावाटले बढेको हो । माग बढेका कारण लोड व्यवस्थापनमा समेत चुनौती थपिएको छ । माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ । चालू आवको अन्त्यसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजनाले विद्युत् उत्पादन शुरु गर्नेछ ।

जाडोको समयमा विद्युत् खपत बढेको छ । यसलाई व्यवस्थापन गर्दै जाने योजनामा रहेको प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले जनाएको छ । काठमाडौं उपत्यकामा बस्ती विस्तार भएको र उद्योग कल कारखानासमेत नियमित चलेकाले पनि माग बढेको निष्कर्षमा प्राधिकरण पुगेको छ ।

प्राधिकरणको प्रणालीमा हाल आफ्नै विद्युतगृहबाट ७ हजार ३२४ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । यस्तै निजी क्षेत्रका आयोजनाबाट ६ हजार ९६४ मेगावाट घण्टा, भारतबाट ८ हजार ६३५ मेगावाट घण्टा विद्युत् आपूर्ति भइरहेको छ । कूल माग २२ हजार ९५३ मेगावाट घण्टा रहेको छ । यस्तै प्राधिकरणका अनुसार ‘ट्रिपिङ’ भने शून्य छ ।


क्लिकमान्डु