सरकारी जागिर खाने हो ? ५४ हजार जनशक्तिका लागि खुल्यो जागिर



काठमाडौं । राष्ट्रिय जनगणनाका लागि सरकारले ५४ हजार ४१३ जनालाई रोजगारी दिने भएको छ । तीन महिने अवधिका लागि सरकारले उक्त जनशक्तिलाई रोजगारी दिन लागेको हो ।
केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा ठूलो मात्रामा जनशक्ति एकै पटक देशभर परिचालन गर्न लागेको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपटक जनगणनामा नितान्त बेरोजगार युवालाई परिचालन गर्ने नीति लिइएको बताए ।

उनले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्यांक संकलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताएका छन् । राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांक नै देशको मूल तथ्यांक भएकाले वास्तविक तथ्यांक आओस भनेर विशेष ध्यान दिइएको छ ।

सोही तथ्यांकलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने भउकाले पनि ठूलो मेहनत गर्न लागिएको विभागले जनाएको छ ।

विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तय गरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको छ ।

विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने नीति लिएपछि त्यसलाई धेरैले सकारात्म्क रुपमा लिएका छन् । गणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने र ४३ हजार २७७ गणकको संख्या रहनेछ ।


क्लिकमान्डु