झ्याप झ्याप विद्युत् गएपछि कुलमानले ल्याए यस्तो योजना



काठमाडौं । विद्युत् भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय बनेको छ ।

विद्युत्भार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन् । माग र आपूर्तिबीचको सन्तुलन मिलाएर विद्युत् वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई पनि अनियमित तरिकाले विद्युन् काटिँदा जनमानसले के ठान्लान् भन्ने लागेकै छ ।

जाडोको समयमा विद्युत् प्रयोग पनि बढेको छ । माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको निष्कर्षमा प्राधिकरण पुगेको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा कार्यकारी निर्देशकसहितको प्राविधिक टोली परिचालित भएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । झ्याप्प झ्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थोका छन् ।

उनले शनिबार मात्रै काठमाडौंका बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानीलगायत सवस्टेशनको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि पहल गरे ।

कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिएका छन् । काठमाडौं ग्रीडका प्रमुख विनोद लोहनीले समस्या देखिएका केही सवस्टेशनको स्थलगत निरीक्षण गरिएको र झ्याप्प झयाप्प बत्ती जाने समस्या समाधानका लागि पहल गरिएको जानकारी दिए ।

उनका अनुसार कार्यकारी निर्देशक घिसिङले समस्याको उचित पहिचान गर्न, समाधानका लागि कुनै कसर बाँकी नराख्न, जनशक्ति नपुगेको भए माग गर्न तथा वितरण प्रणालीमा समस्या देखिएको भए त्यसलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिएका छन् ।

‘विशेषगरी जाडो बढ्दै जाँदा विद्युन् माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ’, लोहनीले भने, ‘हामीले समस्या समाधानका लागि पहल गरेका छौं । आज कार्यकारी निर्देशक पनि आफैं कार्यस्थलमा पुग्नु भई समस्याको निरुपणका लागि पहल गर्नुभएको छ ।’

पछिल्ला दिनमा बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् खपतका लागि आग्रह गरेलगत्तै विद्युत् माग बढेको हो ।
कार्यकारी निर्देशक घिसिङले माग व्यवस्थापनका लागि प्रयत्न गर्न र समस्याको उचित निरुपणका लागि सम्बन्धित सवस्टेशनका प्रमुख तथा ग्रीडका प्रमुखलाई निर्देशनसमेत दिए ।

प्रमुख लोहनीका अनुसार समस्या समाधानका लागि काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकको वितरण केन्द्र तथा ग्रीडलाई समेत एकीकृत कार्ययोजनाका साथ काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिएका छन् ।

 


क्लिकमान्डु