चिनियाँ नागरिकको अनुसन्धानमा प्रहरीलाई कठिनाइ, घरबेटीलाई पनि कारबाही गरिने



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्यूरो (सिआइबी)ले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । उनीहरुलाई प्रहरीले आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार ट्रान्सबोर्डर साइबर क्राइमजस्ता अपराधमा संलग्न रहेका उनीहरुलाई महिला प्रहरी र स्थानीयलाई दुव्र्यवहार गरेको भन्दै अदालतबाट ५ दिनको लागि म्याद थप गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ ।

सीआइबीका अनुसार ब्यूरोले गैरकानूनी क्रियाकलापमा संलग्न हुनसक्ने आशंकामा काठमाडौं तारकेश्वर नगरपालिका–१, मनमैजु, कामनपा–३ महाराजगञ्ज, बुढानिलकण्ठ–३ बुढानिलकण्ठसहित ९ वटा घरमा खोजतलास गरेको थियो ।

यी हुन प्रहरीले चिनियाँ नागिरकबाट बरामद गरेका सामग्रीहरू

प्रहरीले ९ वटै घरबाट एकै समय दिनको १ बजेर २५ मिनेटमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीले चिनीयाँ नागरिकलाई पक्राउ गर्दा एक्लै भने पुगेको थिएन । त्यसका लागि प्रहरीले स्थानीयहरुको पनि सहयोग लिएको थियो ।

प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ मात्रै गरेको छैन । उनीहरुबाट धेरै सामान बरामद पनि गरेको छ ।

अबको प्रहरीको अनुसन्धान चिनियाँ नागरिक मात्रै होइन उनीहरुलाई घर भाडामा दिने घरबेटीहरुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउने जनाएको छ ।

घरभेटीहरुले ५० हजार रुपैयाँ भाडा लाग्ने ठाँउमा १ लाख ५० हजार रुपैयाँ भाडा लिएका छन् । प्रहरीले घरवालालाई न्यून भाडा लाग्ने ठाँउमा बढी भाडा लिएको र चिनियाँ नागरिकलाई गेष्ट हाउस नै चलाएको जसरी घर किन दिएको, उनीहरु त्यहाँ भएको जानकारी किन नगराएको भन्दै प्रहरीले अनुसन्धान थाल्ने भएको छ । आवश्यक परे कारबाहीको दायरामा पनि ल्याउने सीआइबीले जनाएको छ ।

सीआइबीले अपरेशन चार्ली फक्सटर नाम दिएको छ । सीआइबीले जतिलाई नियन्त्रणमा लिएको छ, उनीहरु सबै १५० दिने पर्यटक भिसामा नेपाल आएका थिए ।

झण्डै ३/४ महिना अघि उनीहरु नेपाल आएका थिए । हाल प्रहरीले १२२ जनालाई नियन्त्रणमा लिएपनि अझै चिनियाँसँग राहदानी नभेटिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार उनीहरुले कुनैपनि नेपालीलाई त्यस घरमा पनि पसन नदिने गरेका थिए । कोही मानिस जाँदा पनि परिचयपत्र देखाउनुपर्ने नियम बनाएका थिए ।

नियन्त्रणमा रहेका उनीहरुलाई अनुसन्धान गर्न प्रहरीलाई निकै समस्या भएको थियो । पहिलो त भाषामा नै समस्या देखिएको छ ।

अपराधमा संलग्न १२२ चिनिया नागरिक र सामान समात्न यसरी  सफल भयाे नेपाल प्रहरी

भाषाका कारण मात्रै होएन केही चिनियाँहरुले त प्रहरीलाई हिरासतमा हातपातको समेत प्रयास गर्ने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ । प्रहरीले उनीहरुलाई साइबरलगायत गैरकानूनी कार्य गरेको आशंकमा पक्राउ गरेपनि उनीहरुलाई महिला प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पनि मुद्दा दायर भएको छ ।

उनीहरुलाई आवश्यक अनुसार अन्य आकर्षित हुने कानून अनुसार कारबाही हुने प्रहरी अधिकारीहरुको भनाइ छ ।


क्लिकमान्डु