एटीएम ह्याकिङबारे रिपोर्ट आउन किन भयो ढिलाइ ? यसो भन्छन् नेप्सका सीइओ क्षेत्री
काठमाडौं । एटीएम ह्याकिङ प्रकरणको विस्तृत रिपोर्ट आउने समय अझै लम्बिएको छ ।
चिनियाँ ह्याकरहरुले नेपाली बैंकका एटीएम बुथबाट साढे ३ करोड रुपैयाँ ह्याक गरी लुटेका थिए । सोही प्रकरणमा अनुसन्धान गरिरहेको सिंगापुरको प्राविधिक टोलीले आफैले दिएको समयभन्दा झण्डै एक महिना बढी भइसकेको छ तर रिपोर्ट आएका छैन ।
गत भदौ १४ गते इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले पैसा लुटेका थिए । नेप्सले फरेन्सिक टेस्टका लागि सिंगापुरबाट भदौ १८ गते काठमाडौं भेरि जोन नामक प्राविधिक टोलीलाई काठमाडौं झिकाएको थियो ।
प्राविधिक टोलीले ३ महिनामा नै प्रकरणको सम्पूर्ण तथ्य रिपोर्ट बुझाउने प्रतिवद्धता गरी आवश्यक कागजात लिएर फर्किएको थियो । उक्त टोलीले काठमाडौंमा बसेर ४ दिनसम्म अनुसान्धन गरेको थियो ।
उनीहरुले दिएको समय गत नोभेम्बरमा सकिइसकेको छ ।
‘रिपोर्ट दिने समय समाप्त भएपनि अझै आइपुगेको छैन, भेरी जोनका प्राविधिकहरुले समय लम्बाइरहेका छन्,’ नेप्सका कार्यकारी अधिकृत (सीइओ) प्रविण क्षेत्रीले क्लिकमाण्डूसँग भने।
‘उनीहरुले रिपोर्ट दिन्छु भनेको समय सकियो तर अनुसन्धानको रिपोर्ट पठाउन समय लम्बाइ रहेका छन्,’ उनले भने, ‘भेरी जोनले मिड जनवरीसम्म अनुसन्धानको रिपोर्ट पठाउने बताएका छन् ।’
उनीहरुले दिएको समयमा पनि यकिन नभएको सीइओ क्षेत्रीले बताए । भेरी जोनका अनुसन्धान टोली र नेप्सको सातामा १ पटक प्रकरणबारे छलफल भइरहेको क्षेत्रीले बताए ।
‘हाम्रो हप्तैपिच्छे मिटिङ हुन्छ,’ क्षेत्रीले भने, ‘जसमा इक्वाइरी मात्र भइरहेको छ ।’
सिंगापुरबाट इन्भेष्टिगेसनको फाइनल रिपोर्ट आएपछि मात्र ह्याकिङ प्रकरणबारे विस्तृत तथ्य थाहा हुने उनको भनाइ छ ।
चिनियाँ ह्याकरहरुले नेपालका ७ वटा बैंकका विभिन्न एटीएम कार्ड प्रयोग गरी १७ वटा बैंकको ६४ वटा एटीएमको प्रयोग गरी ३ करोड ५४ लाख रुपैयाँ लुटेका थिए ।
ह्याकिङ प्रकरणमा राष्ट्र बैंकले नेप्ससहितको छानबिन समिति गठन गरेर अनुसन्धान गरेको थियो । जसमा प्रारम्भिक अनुसन्धान गरी अदालती कारवाही भइरहेको छ ।