इन्टरपोलको सूचनापछि एकैदिन पक्राउ परे १२२ चिनियाँ नागरिक
काठमाडौं । विभिन्न अपराधमा संलग्न १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये ८ जना महिला र ११४ जना पुरुष छन् ।
प्रहरीका अनुसार इन्टरपोलको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । इन्टरपोलको सान्टियागोमा सम्पन्न ८८ औं साधारण सभामा इन्टरपोलका प्रमुख, चीन र नेपालका प्रमुखबीच ट्रान्सबोर्डर साइबर क्राइममा संलग्न भइरहेको सूचना आदानप्रदान भएको थियो ।
जसलाई आधार बनाएर नेपाल प्रहरी केन्द्रीय अनुसन्धानले अनुसन्धान शुरु गरेको थियो । नेपाल प्रहरीले गैरकानूनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा काठमाडौं तारकेश्वर, मनमैजु, महाराजगञ्ज, बुढानिलकण्ठका ९ वटा घरमा खोजतलास गरेको थियो ।
जसमा उनीसँग अस्वभाविक मात्रामा शंकास्पद सामान भेटिएकाले उनीहरुलाई सोधपुछ गर्न खोज्दा महिला प्रहरीलाई समेत दुव्र्यवहार गरी भाग्न खोजेका थिए । सोही क्रममा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले दुव्र्यवहार गरेकाले सो मुद्दा पनि लगाइ ५ दिन म्याद थप गरेको छ ।
प्रहरीले उनीहरुबाट ल्यापटप, मोबाइल, पासपोर्ट, सिमकार्ड र पेनड्राइभ बरामत गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेकाबाट मोबाइल ७४७ थान, ल्यापटप ३३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान बरामत गरिएको छ ।