काठमाडौंका गल्लि गल्लिकाे पैदल अनुगमनमा निस्किए मेयर शाक्य (फोटो फिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका छन् । यस अघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् ।

मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिका साढे २ वर्षमा वडामा भए-गरेका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएका हुन् ।

‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत् पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’ उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने बताए ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार ढंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डा. उत्तरकुमार रेग्मी र वडाका सरोकारवालाहरुसहित अनुगमनका क्रममा मेयर शाक्यसँग स्थानीयले विभिन्न खाले गुनासा गरेका थिए ।

मेयर नै विकास निर्माणको कामबारे जानकारी राख्दै घर-दैलोमा आएको भन्दै धेरैले खुशी पनि व्यक्त गरेका थिए ।

मेयर शाक्यसहितको टोलीले महानगरपालिका दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाल लगायतका स्थानको अनुगमन गरेको थियो ।

लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर शाक्यसँग गुनासो गरेका थिए । केहीले घर अगाडि नै बिजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोस व्यक्त गरेका थिए ।

अनुगमनकै क्रममा भेटिएका मैजु बहाल चक्रपथ सडक सुधार तथा ढल निर्माण अनुगमनसमितिका संयोजक समेत रहेका पूर्व डिआइजी रवीन्द्र पण्डितले मेयरसहितको टोली आफ्नो टोलमा अनुगमनका लागि आएकोमा खुशी व्यक्त गरे

‘पहिला यहाँको बाटो ६ मिटरभन्दा सानो थियो । अहिले यहाँका सडक विस्तार गर्ने क्रममा केही विग्रिएका छन् । अबको केही महिना भित्रमा यहाँका सबै सडक कालोपत्रे होलान भन्ने हामीले अपेक्षा गरेका छौँ,’ पण्डितले भने, ‘सडक वत्ती सार्नेलगायतका काममा सम्वन्धित निकायले त्यति ध्यान नदिदा थप समस्या भएको छ । आज मेयरज्युलगायतको टोलीले अनुगमन गरेपछि सम्वन्धित निकायको ध्यान जानेछ भन्नेमा हामी ढुक्क छौँ ।’

उनले महानगरपालिकाले ७ करोड बजेट दिने भएपछि आफूहरु उत्साहित भएर काममा लागेको भन्दै यस्ता खाले अनुगमन समय-समयमा गर्न आग्रह गरे ।

मेयर शाक्यले पनि स्थानीयका गुनासा सुन्दै छिटो-भन्दा छिटो काम सम्पन्न गर्ने गरी आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मैजु बहाल क्षेत्रकै लागि थप एक करोड बजेट छुट्याएको भन्दै विकास निर्माणका काममा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीयले विकास निर्माणका काममा भएका ढिलासुस्तीलगायतका बारेमा गरेका गुनासोलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै मेयर शाक्यले त्यसले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने बताए ।

‘हामी अहिले काठमाडौँ महानगरपालिकाले गरेका काम र गरिरहेका दुबै कामको अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘भैसकेका काम भन्दा पनि भैरहेका र हुन बाँकी रहेका वा जनताले दुःख पाएका ठाउँको कामलाई छिटो सम्पन्न गर्नका लागि पनि हामीले स्थलगत अनुगमन गरेका हौँ । हामीले यहि बाटोका पोल सार्न विद्युत प्राधिकरणलाई ४३ लाख दिइसकेका छौँ । तर, त्यहाँबाट भएको ढिलासुस्ती र बाटो विस्तारका क्रममा देखिएका केही अवरोधले पनि थप समस्या भएको छ । तर, हामी यो वर्षको अन्त्यसम्ममा यहाँका सबै बाटो कालोपत्रे गरिसक्छौँ ।’

अनुगमनकै क्रममा उदय सुनुवारले आफ्नो निजि निवास निर्माणका क्रममा बाटो नै अवरुद्ध गरेर निर्माण सामाग्री थुपारेको देखेपछि तत्कालै खाली गर्न निर्देशन दिएको थियो । वडा-७ कै वासिन्दा समेत रहेका प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले पनि तत्काल सडक खाली गर्न निर्देशन दिएका थिए । वडाध्यक्ष डंगोलले दुई घण्टा भित्र सडक खाली नगरे नगरप्रहरीले उठाइ दिने चेतावनी दिए ।

अनुगमनका क्रममा भट्टराईले जहाँ–जहाँ समस्या छन् त्यहाँ–त्यहाँको स्थलगत अनुगमन गरेको भन्दै समस्यालाई जतिसक्दो छिटो हल गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले चुच्चेपाटीदेखि गौसालासम्मको बाटो नबन्दा सबै भन्दा बढी आलोचना खेप्नु परेको भन्दै त्यहाँको पनि समस्या जतिसक्दो छिटो समाधान गर्नेतर्फ केन्द्रित भएको बताए ।

उनले बाटो विस्तार गर्ने क्रममा त्यहाँका पुराना ढल परिवर्तन गर्नुपर्ने र मेलम्चीको काम सम्पन्न नभएकाले पनि केही ढिलासुस्ती भएको बताए । वडाध्यक्ष डंगोलले वडाका लागि केन्द्रबाट करीब १५ करोड बजेट आइसकेको भन्दै विकासका काममा बजेट अभावले समस्या नहुने बताए ।

उनले वडा नम्बर-७ दुई ओटा विश्व सम्पदासूचिको बीचमा रहेको वडा भएका कारण पनि यहाँको विकास अरु वडाको भन्दा फरक ढंगले गर्नुपर्ने बताए । ‘हामी पर्यटन वर्ष २०२० को नजिकमा छौँ,’ उनले भने, ‘यो वडा दुई ओटा विश्व सम्पदासूचिको बीचमा रहेको वडा हो । त्यसैले पर्यटकीय दृष्टिकोणलाई पनि आधार मानेर हामी काम गरिरहेका छौँ ।’


क्लिकमान्डु