नेपाल सौर्य विद्युत उत्पादक सङ्घमा खनाल निर्वाचित




काठमाडौँ । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको १९ औँ वार्षिक साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष किरण गौतम, वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा केशवप्रसाद दाहाल र कोषाध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन् ।

सङ्घको कार्यकारी सदस्यहरुमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरुण गिरी, नेत्रप्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नवीनकुमार शाही र केशवराज शर्मा रहेका छन् ।

यसअघि चितवनको सौराहामा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मुलुक ऊर्जा निर्भरताका लागि अघि बढदै बढेको र सौर्य ऊर्जा प्रमुख श्रोतको रुपमा स्थापित हुँदै गएको बताए । उनले सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’को लक्ष्य हासिल गर्न सबैका लागि दिगो ऊर्जा, दिगो विकास लक्ष्य, हरेक घरःऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती जस्ता लक्ष्य प्राप्तिका लागि योजनाहरु तर्जुमा गरिएको उल्लेख गरे ।

पूर्वमन्त्री गणेश साहले कृषि तथा उद्योगधन्दा विकास गर्दै मुलुकको आर्थिक विकास गर्न नवीकरणीय ऊर्जाका प्रविधिहरु कुशलतापूर्वक परिचालन गर्नुपर्नेमा जोड दिए । ऊर्जा, जलश्रोत तथा सिँचाइ मनत्रालयका सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रका समस्याहरु समाधान गर्न र कार्य सहजताका लागि सरकार सरकारात्मक रहेको बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले निजी क्षेत्रको सहयोगमा सरकारले नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्दै देशका विकट र दुर्गम क्षेत्रका बासिन्दालाई स्वच्छ ऊर्जा उपलब्ध गराउन सफल रहेको बताए । उनले ऊर्जा आवश्यकता र उपादेयताको आकार बदलिएको परिप्रेक्ष्यमा सङ्घीय सरकार, प्रादेशिक सरकारहरु र स्थानीय सरकारहरुका साथ निजी क्षेत्रलाई समन्वय गर्न र सशक्तीकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको चर्चा गरे ।

सङ्घका अध्यक्ष किरण गौतमले सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडिने ठूला आयोजनाहरु, घर कौसीमा राखिएका सौर्य विद्युत् प्रणालीहरुबाट उत्पादित बिजुली नेटमिटरिंङ गर्दै मिश्रित ऊर्जाको अवधारणा अघि बढाइएको भएपनि कार्यान्वयन सुस्त रेहकाले सरकार र सरोकारवाला निकायहरुले तदारुकताका लागि पुनर्विचार गर्न आग्रह गरे । नेपाल नवीकरणीय उर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्न जनताको हित र लाभका लागि कृषि नीति, औद्योगिक नीति, लगानी व्यवस्थापनका आर्थिक नीति चुस्त दुरुस्त र निजी क्षेत्रमैत्री बनाउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु