भ्रमण वर्षको प्रचार गर्न एटीएम कार्डमा लोगो र पर्यटकको बीमा गरिदिन सरकारको आग्रह
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन केही दिन मात्रै बाँकी रहँदा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बैंक तथा बीमा कम्पनीका प्रतिनिधिसँग प्रचारप्रसारमा एग्रेसिभ भएर सहयोग गरिदिन आग्रह गरेको छ ।
सोमबार राजधानीमा आयोजित छलफल कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बैंकहरुले एटीएम कार्डमा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरे । साथै, बीमा कम्पनीहरुलाई पर्यटकको बीमा गर्न सकिने भए सो अनुसार प्याकेज ल्याएर सहयोग गर्न आग्रह गरे ।
‘हामी पर्यटकले मनोरञ्जन मात्रै होइन, बीमामार्फत् सुरक्षित समेत होउन भन्ने चाहना छ त्यसैले बीमा गर्न सकिने भए त्यसतर्फ काम गरौं’ अधिकारीले भने ।
त्यस्तैं, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग कुरा गर्दै अधिकारीले बैंक तथा वित्तीय क्षेत्रले जारी गर्ने एटीएम कार्डमा समेत भ्रमण वर्षको लोगो राख्न सके राम्रो प्रचार प्रसार हुने विश्वास व्यक्त गरे ।
पर्यटन बोर्डका अनुसार हालसम्म नेपाल एसबीआई बैंकले मात्रै एटीएम कार्डमा भ्रमण वर्ष सचिवालयले बनाएको नेपालको लोगो प्रिन्ट गरेको छ । भने अन्य बैंकले कुनै प्रतिक्रिया दिएका छैनन् ।
छलफलका क्रममा चिनियाँ अनलाइन भुक्तानी प्रणाली अलिपे, विच्याटका साथै मास्टरकार्ड, भिजा कार्डमा समेत लोगो राखिदिन आग्रह गरेका थिए । जवाफमा बैंकरहरुले एउटा बैंकको सम्बन्ध न्यूनतम ६०÷७० देशका बैंकसँग हुने भएकाले सो काम गर्न सकिने बताएका थिए ।
त्यस्तै सरकारले पर्यटकीय पूर्वाधारमा ठूलो लगानी आवश्यक भएकाले त्यसमा पनि सहयोग गर्न बैंकहरुलाई आग्रह गरेको थियो । जसमा टुरिजम सिटी भिलेजको कन्सेप्टमा काम गर्न लागिएकाले सोका लागि लगानी गर्न बैंकरहरुले सकारात्मक जवाफ दिएका थिए ।
साथै प्रत्येक शाखा तथा कर्पोरेट हाउसमा पर्यटकका लागि नमस्ते सेन्टर, एटीएम बुथ राखि सहयोग गरिदिन समेत सरकारले आग्रह गरेको थियो ।
‘कम्पनीको लेटर प्याडदेखि एटीएम कार्डका साथै वेवसाइटमा नेपाल भ्रमण वर्षको लोगो तथा जानकारीहरु राखिदिनुहोस्, साथै आधुनिक शैचालयका साथै हरेक क्षेत्रमा ब्यूटिफिकेसनका लागि सहयोगको अपेक्षा गरेका छौं,’ अधिकारीले भनेका थिए ।