सरकारको प्रस्तावः चोभारको खाली डाँडामा १ लाखलाई एकैसाथ सेवा दिन १० अर्बमा होटल खोलौं



काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका प्रतिनिधिहरुलाई राजधानीको छेउैमा रहेको चोभारमा अन्तर्राष्ट्रिय स्तरको विशाल होटल वा अन्तर्राष्ट्रिय स्तरको कन्फरेन्स हल स्थापना गर्न प्रस्ताव गरेको छ ।

सोमबार राजधानीमा नेपाल भ्रमण वर्ष २०२० मा बैंकर्स र बीमा कम्पनीसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले १० अर्बको लगानीमा यस्तो होटल खोल्न बैंकर्स समक्ष यस्तो प्रस्ताव अघि सारेका हुन् ।

अधिकारीले चोभारमा रहेको खाली जग्गालाई उपयोग गर्न सक्ने हो भने मुलुकलाई निकै फाइदा हुने भन्दै ठूलो लगानीका लागि बैंकहरुलाई आग्रह गरे ।

‘म वाणिज्य सचिव हुँदा त्यसबारे डिजाइन गरिएको थियो, ८०० रोपनी क्षेत्रफल खाली छ, १० अर्ब जति खर्च हुन्छ होला बैंकहरु मिलेर लगानी गर्दा कसो होला ?’ अधिकारीले बैंकरहरुलाई प्रस्ताव अघि सारे ।

प्रतिउत्तरमा नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले त्यसमा कर्जाका लागि काम गर्न सकिने सकारात्मक जवाफ फर्काएका थिए ।

सचिव अधिकारीका अनुसार चोभारमा अहिले ८०० रोपनी क्षेत्रफल जमिन खाली छ । जसमा फाइभ स्टार, थ्री स्टार होटलका साथै ठूलो कन्फरेन्स हलका साथै एक्जिविसन हल समेत स्थापना गर्न सकिन्छ । त्यसका लागि बैंकहरुको अग्रसरता आवश्यक छ ।

उनले आफू वाणिज्य सचिव हुँदा डिजाइन गरेको बताउँदै भने एकैसाथ १ लाख मानिसलाई क्याटर गर्न सकिन्छ भने १ हजार सवारी पार्किङ गर्न पनि सकिन्छ । यो निकै विशाल संरचना भएकाले लगानीका लागि बैंकहरु सकारात्मक हुनुपर्ने बताए ।

‘चोभारमा रहेको खाली डाँडालाई अन्तर्राष्ट्रिय स्तरको इन्फरमेसन सेन्टर, कम्यूनिकेसन सेन्टर, प्रदर्शनी सेन्टर जस्तो बनाउन खोजेको हो, दिल्लीमा पनि एउटा त्यस्तै सेन्टर छ जहाँ कार्यक्रम गर्न पनि ३ महिनाअघि बुक गर्नुपर्छ,’ अधिकारीले सुनाए ।

‘दिल्लीमा जस्तै ठूलो संरचना बनाउनका लागि चोभारमा पनि ठाउँ छ । त्यस्तै, ८/१० अर्ब रुपैयाँ लगानी लाग्छ, त्यसमा बैंकहरुले संयुक्तरुपमा अग्रसरता लिइदिए हुन्थ्यो भन्ने अपेक्षा छ,’ उनले अगाडि थपे, ‘त्यहाँ ५ तारे होटललाई पनि स्पेस छ, ३ तारे होटललाई पनि स्पेस छ । कन्फरेन्स सेन्टर छ, सो किमिसमको डिजाइन भएको हुनाले यस्ता ठूला प्रोजेक्टमा पनि हामीसँगै जान सकिन्छ ।’


क्लिकमान्डु