निजगढ विमानस्थलको काम रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले निवेदकहरुको माग अनुसारकै आदेश जारी गरेको हो । त्यसअघि सर्वोच्चले निवेदक र सरकारी दुबै पक्षको तर्क सुनेको थियो ।
यसअघि गत मंसिर १९ गते सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निजगढ विमानस्थल निर्माणको काम यथास्थितीमा राख्ने अन्तरकालिन आदेश दिँदै पुस ६ गतेका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
निवेदनमा विमानस्थलका लागि पुराना रुखको जंगल विनाश गर्ने, रुख काट्ने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्दा वातावरणमा नकारात्मक असर पर्नाले जंगली जनावरको वासस्थान हराउने तथा पानीको स्रोत तराइमा सुक्ने तर्क गरिएको छ ।
रञ्जुहजुर पाँडे, द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्रीलगायतले सर्वोच्चमा रिट हालेका थिए ।