सरकारी जग्गाको पहिचान गर्नुस, त्यसमा किल्ला ठोक्न म आफै आउँछुः मन्त्री अर्याल
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकी छिन् ।
चितवनमा आयोजित अन्तकृया कार्यक्रममा मन्त्री अर्यालले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको ब्यापक गुनासो आइरहेका बेला जग्गा संरक्षणको अभियान थालेको बताइन ।
कार्यक्रमाम मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताइन । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्ने बताइन । कार्यक्रममा स्थानीय पालिकाका प्रमुख तथा अगुवाहरूलाइ निर्देशित गर्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व भनेको स्थानीय पालिकाकै भएको बताउँदै उक्त अभियानमा लाग्न आग्रह गरिन ।
स्थानीय पालिकाले पहिचान गरेको सार्वजनिक तथा सरकारी जग्गामा सरकारले आफ्नो झण्डा गाड्ने प्रतिवद्धता जनाइन । ‘तपाइहरूले यहाँका सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस । किल्ला ठोक्न म आफै यहाँ आउछुु,’ मन्त्री अर्यालले भनिन् ।
मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर सरकारको नाममा जग्गा फर्काउने अभियान थालिएको बताउँदै यस कार्यमा कसैको डर धम्किबाट नडराउन समेत उनले आग्रह गरिन् ।
सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी तथा खालि रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको मन्त्री अर्यालको भनाई छ । आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउनेगरी काम अगाडी बढेको पनि मन्त्री अर्यालले बताइन् ।
सरकारले सरकारी र सार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग गठन गरेको थियो । आयोगले हालै बुझाएको प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको उल्लेख गरिएको छ ।