उद्योगी ढकालको यात्राः बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म



काठमाडौं । पानीपोखरीस्थित आइएमईको कार्यालयमा बिहान साढे ८ बजे भेट्ने बाचा सहित समयमै पुगेका हामीलाई देखेपछि उनले नाडीमा बाँधिएको घडी हेरे र माफी माग्दै भने, ‘धेरै समय त कुराइन नि ?’

त्यतिबेला हाम्रो घडीमा बिहानको साढे ८ बज्न २ मिनेट अझैँ बाँकी थियो । हामी २ मिनेट अगावै पुगिसकेका थियौं ।

उनलाई नजिकबाट चिन्नेहरु समय ढकाललाई चिन्ने मापनजस्तै हो भन्छन् । समयसँग उनको कुनै सम्झौता हुँदैन । टिमका कर्मचारीले अहिलेसम्म उनको समयलाई छल्न सकेका छैनन् । बैठक होस् वा काम उनको ‘पङ्चुवालिटी’ उनको विशेषता नै हो ।

त्यसैले नेपालका उदीयमान व्यावसायी चन्द्रप्रसाद ढकालले अहिले हरेक गोष्ठी, बैठक हुन् वा मिडियासँगको कुराकानीमा भन्छन्, नेपाल राष्ट्र बैंकले नेपालका वित्तीय संस्थाका लागि जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौं ।

उनको यो दाबीको पछिल्लो नेपाल राष्ट्र बैंकले अघि सारेको ‘बिग मर्जर’को कार्यान्वयनले पुष्टि गर्छ । यो नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोवल आइएमई बैंक बन्यो । जो जनता बैँकसँग मर्ज भएर नेपालको सबैभन्दा ठूलो बैंक बन्यो । र, त्यसका अध्यक्ष बने ढकाल ।

पहाडी जिल्ला बाग्लुङको अमलाचौरमा २०२२ मा जन्मिएका ढकालको पहिचान एउटा सफल व्यवसायी हो । तर उनको उद्यमशीलताको यात्रा उति लामो छैन । करिब साढे दुई दशक अघि शुरु भएको उद्यमशिलताको यात्राले छोटो समयमै सफलताको साम्राज्य समातेका उनको सफलताको रहस्य के होला ?

उनको विगत बुझ्नेहरु यो प्रश्नको वरिपरि अहिले पनि घोत्लिन्छन् । उत्तर स्वाभाविकै आउँछ, ‘सोच, लगाव, इमान्दारी र परिश्रम ।’

ढकाल पनि यो कुरालाई स्वीकार गर्छन् । ‘हो, मेरो सफलताको सबैभन्दा दरिलो टेको लगाव र परिश्रम नै हो’, उनले भने । उनी अहिले आइएमई ग्रुप, ग्लोवल आइएमई बैंक र चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष हुन । अध्यक्षका साथै रहनुभएका अरु सामाजिक संघसंस्था कैयन छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युत्का क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति भइसकेको छ । नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् ।

‘संसारका अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै मलिलो छ । यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनतको अपेक्षा गर्छ । म त भन्छु, हामी माटो रोपेर सुन फलाउन सक्छौँ, उद्यम गर्न अन्त कतै भौँतारिनु पर्दैन,’ उनले भने ।

अनौपचारिक कुराकानीकै क्रममा हामीले जिज्ञासा राख्यौं, ‘नेपालका सबै उद्यमी, व्यवसायी तपाईजस्तै सफल छन् र ?

लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताबाट दुई लाइन सुनाए, ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ यो कविता त तपाईले पढ्नु भएकै होला । तर धेरैले अर्ति उपदेश दिँदा यो तल्लो हरफ मात्र भन्छन् । सबैले चन्द्रमा नै छुने उद्देश्य लिनु भन्छन् । तर पनि त्यसको माथिल्लो हरफ प्रायःले उच्चारण नै गर्दैनन् । चन्द्रमा छुन सिकाउने अथवा सम्भव बनाउने माथिल्लो लाइन पसिना र विवेक हो ।’

पसिना, परिश्रम या मेहनत हो, विवेक बुद्धि वा ज्ञान हो । पसिना र विवेकबिना नै चन्द्रमा छुन खोजेर सम्भव छैन, सकिँदैन । हाम्रो पसिना र मेहेनतको मूल्यांकन गर्नुभयो भने तपाईको प्रश्नको उत्तर आफँै पाउनुहुन्छ ।’

अनि ढकालले थप्नुभयो, ‘हो, मानिसलाई कतिपय अवस्थामा नसोचिएको सफलता पनि हात लाग्छ अथवा केही नसोचिएका कुराहरु पनि हुन सक्छन् । तर पनि ती सबै नराम्रा पनि त हुँदैनन् ! जे हुन्छ राम्रै हुन्छ ।’

तर उनको अहिलेको यो सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । एउटा बालकका रूपमा आफ्नो बुबाको माया र सुखद् भविष्यको सपनाचाहिँ देख्न पाएनन्, बुबाले सानैमा छाडेर गए, १६ वर्षको एक किशोरको काँधमा अब आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो ।

भन्नुहुन्छ, ‘त्यसबेला मेरा आँखा अगाडि एउटै मात्र सपना आएको हो, जस्तोसुकै मूल्यमा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ ।’ तर उपाय के होला ? त्यो बालमष्तिष्कले सोच्नसक्ने कुरा पनि भएन । तर अहिले उनको आत्मबल र परिश्रमले यहाँसम्म ल्याइपु¥याएको छ ।

यसरी १६ वर्षे उमेरमै खुशीमा ग्रहण लागे पनि जीवनमा पूर्णमास पाउन उनले गरेको मिहेनत निकै लोभलाग्दो छ । यति कठीन यात्रा कसरी काटियो यो उनको अहिलेको साम्राज्य हेर्ने जो कोहीले पनि बुझ्न सक्छ । ‘औंसीको रातमा आइपर्ने अप्ठ्यारोसँग भिड्ने साहस राख्नेले मात्रै पूर्णिमाको रातको मज्जा लिन पाउँछन्’ उनले भने ।

जागिर छाडेर व्यावसायिक यात्रा
उनको जीवनमा जागिरे जीवन ४ वर्ष रह्यो । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दै गर्दा पलाएको व्यवसायिक सोच र आँटले २०४८ तिर कोल्डस्टोर व्यवसायमा हाल हाले । ढकालले त्यसपछि कार्गो पनि शुरु गरे । त्यतिबेलासम्म भाइ रामु (हेमराज ढकाल, हाल आइएमई ग्रुुपका प्रबन्ध निर्देशक) उनको काममा साथ दिन आइसकेका थिए ।

व्यवसायका लागि १२/१३ लाख रुपैयाँ ऋण चाहियो । आफूले काम गर्ने बैंकमै ऋण मागे, तर कर्मचारीले ऋण नपाउने व्यवस्थाले ऋण पाएनन् । व्यवसाय शुरु गर्न कर्मचारीको जागिर बाधक भएपछि उनले सोही दिन राजीनामा दिए र भने, ‘अब त दिन मिल्छ होला नि ?’

यसरी बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल आज देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएका छन् । सफलताको यो यात्रा अझै लामो हुँदै जाने सफलताका पदचापले देखाइसकेका छन् ।

‘त्यो दिन मैले सही निर्णय गरेछु भन्ने आजका दिनमा लाग्छ’ उनले भने, ‘त्यससमय बैंकको जागिर सबैलाई प्यारो थियो । तर मेरो ब्रह्मज्ञानले जागिरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिलेकाहीँ आफैँ पनि छक्क पर्छु ।’

जागिरे जीवन छाडेर व्यवसायमा हात हालेका उनले कार्गो व्यवसायलाई विदेशमा फैलाउन चाहन्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो ।

कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे, भिसा पनि लाग्यो । तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसे र त्यहीँ काम गरे ।

‘त्यससमय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ । पछि अमेरिका गइनँ’ उनल भने । त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाउने अवसर मिल्यो उनलाई ।

उनीपछि भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे । ढकाल दाजुभाइको त्यही अनुभवको उपजले जन्मायो, ‘आइएमई’ ।

आइएमईको शुरुआत
उनको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिटेन्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थितरूपमा स्वदेश भित्र्याउन आजसम्म नै सम्भव भएको छ । जसको शुरुवात ढकालले नै गरेका थिए ।

अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उहाँहरुको कडा परिश्रमको टेको लागेको छ । ‘आइएमई’सँग सायदै कोही नेपाली अपरिचित होलान् । यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग नै जोडिन पुगेको छ । यतिसम्म कि रेमिटेन्सका लागि आइएमई पर्याय नै बनिदियो ।

नेपालीले विदेशमा गरेको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो । नेपालको अगुवा रेमिट्यान्स कम्पनीका रूपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारलाई राजश्व नबढ्ने त कुरै भएन, जुन अहिले पनि आइएमई होस् या अरु कम्पनीबाट जारी नै छ ।

तर पनि त्यससमय हुण्डीमार्फत् मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलोपटक यो नीतिगत व्यवस्थाको विकल्प उनले नै दिएका हुन् । यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटिनबाट पनि जोगाएको छ । किनभने हुण्डीको रकम हिनामिनाका घटनाले हुने गरेका आपराधिक घटनाका समाचार त हामीले विगतका वर्षहरुमा सुन्ने गरेकै हौँ ।

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला ग¥यो । धेरै नेपाली गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो ।

‘यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग ग¥यौँ, जुन सफल पनि भयो’ उनले भने ।

‘अहिले यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायवाची हो भन्दा फरक पर्दैन । अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि ‘आइएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ । यो हाम्रा लागि ठूलो खुशी हो’ ढकालले थपे ।

‘आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने चाहिँ लागेको थिएन’, उनको अनुभव सुनाए, ‘हामीले एक खालको जोखिम नै मोलेका थियौँ भन्ने लागेको हो । तर जहाँ जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ ।’

शुरुआती दिनमा तपाईहरुको रकम सुरक्षितरूपमा घर परिवारसम्म पु¥याइदिन्छौँ भन्दा मानिसहरु पत्याउँदैन थिए । तर हाम्रो इमान्दारीले विस्तारै हामीलाई यहाँसम्म ल्यायो ।

हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान ‘ग्रुप’ पनि हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना-प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै हो भन्दा फरक पर्दैन ।

व्यावसायिक फड्को र केबलकार
आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न छन् । उनी आफ्नो निजी व्यापार मात्र गर्दैनन । उद्योग, वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि पनि समय खर्चिन्छन् । रोजगारदाता परिषद्को सभापति उनले रोजगारदाताको हकहितको स्थापनामा पनि कार्यरत हुनुहुन्छ ।

ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उहाँको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् ।

ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ ।

‘चन्द्रागिरी आयोजना नेपालमा नाकाबन्दी र भूकम्पले जर्जर पारेको अवस्थामा पनि समयमै सम्पन्न भएको हो र यसले मलाई लाग्छ नेपालको त्यससमयको अर्थतन्त्रको मनोबल उकास्ने काम गरेको छ’ उनले भने ।

हुन पनि हो, भूकम्प र नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र थरथर काँपेको अवस्था थियो । तर राजधानीमै यो केबलकारका खम्बाहरु चन्द्रागिरिको चुचुरोमा ठडिएसँगै यहाँको उद्योग क्षेत्रले पनि आफू तङ्ग्रिएको महसुस गरेको थियो । यसले नेपालको आर्थिक क्षेत्रको मनोबल बढाएको थियो । हाल त्यहाँ रिसोर्टदेखि विभिन्न एकीकृत पर्यटकीय संरचनाहरु बनेका छन् ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंको औपचारिक कार्यक्रम सकेपछि चन्द्रागिरी पुगे । त्यहाँबाट केही घण्टाको हाइकिङ पनि गरे र निकै रमाए । उनको भ्रमणपछि अहिले त्यहाँ चिनियाँ पर्यटक बढेका छन् ।

‘यहाँ आएका केही चिनियाँ पर्यटकसँग कहिलेकाहीँ कुराकानी गर्छु उनीहरुले चीनमा त यसको नाम ‘मुन माउण्टेन’ दिएका छन् रे’ उनले सुनाए ।

हाल ढकाल व्यावसायिकरूपमा नेपालमा केबलकार विस्तारको योजनामा छन् । नेपालका सात वटै प्रदेशमा केबलकार पुर्याउने उनको योजना छ ।

‘केही स्थानमा सम्भाव्यता अध्ययन गरेका छौं र, कतिपयमा काम धेरै अघि बढेको पनि छ’ उनले भने ।

नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आइएमई बैंक नै शीर्षस्थानमा छ । चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय लिए ।

सरकारको सोही नीतिका कारण ग्लोबल आइएमई र जनता बैंक मर्ज भएर गत मङ्सिर २० बाट एकीकृत कारोबार नै शुरु भयो । मर्जरपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ । बैंकको चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ, कूल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी र कूल कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ छ । त्यस्तै देशका सातै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दा बढी शाखा र तीन हजार २५० भन्दा बढी कर्मचारी छन् ।

राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करीब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बंैकको अध्यक्ष बन्न सफल भएका छन् । मङ्सिर २० गते संयुक्त कारोवार शुभारम्भका लागि ग्लोबल आइएमई बैंकको कर्पाेरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सो कारोवार शुभारम्भको उद्घाटन गरेका थिए ।

त्यस कार्यक्रममा उनलाई मन्त्री एवं उपस्थित सबैले सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएकामा बधाई दिँदै देशकै ठूलो बैंक भएकाले सबैको आँखा लाग्ने भन्दै चुनौती थपिएको पनि सुझाएका थिए ।

नेपालमा लगानीको वातावरण छ ? यो प्रश्नमा ढकाल भन्छन्, ‘बलियो सरकार छ, लगानीकर्ताहरुले अरु केही वातावरणका अतिरिक्त स्थायी सरकार हेर्छन् नै । अहिले लगानीको वातावरण छैन भन्न मिल्दैन । तीन तहको सरकार बनेपछि लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा नै भएको छ भन्दा हुन्छ ।’

ढकाललाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगतरूपमा भेटेर या फोन गरेर आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्ने गरेको सुनाए । ‘तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्नु भएको छ’, ढकालले भने ।

जन्मस्थलको माया
ढकाललाई जन्मिएको माटोको पनि औधी माया छ । गृह जिल्लातिर सम्मेलन, मेला महोत्सवको आयोजना गर्ने हुन् या स्वास्थ्यचौकी, स्कूल या सामाजिक सेवाका कार्यक्रमका लागि सहयोग माग्न आउनेहरु खाली हात फर्किँदैनन् ।

‘यो जन्मभूमिप्रतिको माया नै हो’, उनी भन्छन । समय पाएसम्म आफ्नो जन्मघर पुग्छन । ‘सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ, कहिलेकाहीँ पुग्छु, बडो आनन्द लाग्छ’ उनी भन्छन् ।

कहिलेकाँही आफ्नो मेहनतले सजिएको सुन्दर चन्द्रागिरी चुचुरोको उचाइबाट आफ्नै जिन्दगीतर्फ फर्केर हेर्दा कस्तो लाग्छ ?

जिज्ञासामा भावुक हुँदै ढकाललो भने, ‘जिन्दगीले धेरै आयाम बदल्यो, धेरै तलमाथि पनि पार्यो । तर मलाई भने सधैँ बलेवाको सुन्दरताले तान्छ अनि अमलाचौरकै माटो बसाउँछ । अनि सम्झिन्छु, ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु’ ।’

सायद यही मायाले होला ढकाल परिवारले अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा ६ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर भौतिक विकास गरेका छन् । सो भवनको गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । स्व पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा उक्त विद्यालयको नामाकरण गरिएको छ र उक्त भवनको नाम हिरण्य स्मृति भवन राखिएको छ ।

‘विभिन्न कार्यक्रममा होस् या मिडियाले समाचार लेख्दा आफूलाई ‘सफल व्यवसायी’ भन्ने गरेकामा मलाई अचम्म लाग्छ । यो देशका सबै नेपाली सफल छन् । कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिन्छ’, उनको भनाइ छ ।


क्लिकमान्डु