खर्च गर्न विकासे मन्त्रालयहरु असफल, चालु खर्चमात्र बढी
काठमाडौं । मन्त्रालयहरुले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २०.१७ प्रतिशत खर्च गरेका छन् ।
अर्थसमितिले चालु आर्थिक वर्षको पहिलो त्रैमासको बजेट कार्यान्वयनको विषयमा भएको छलफलमा केही मन्त्रालयहरुले उक्त अवधिमा भएको खर्च र भौतिक प्रगतिको विवरण पेश गरेका हुन् ।
बैठकमा अर्थ सचिव डा. राजन खनालले चालु आवको पहिलो चौमासमा २०.१७ प्रतिशत मात्रै बजेट खर्च भएको बताए ।
उनका अनुसार चालु खर्च २६.८० प्रतिशत, पुँजीगततर्फ ९.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८.४४ प्रतिशत खर्च भएको छ ।
यो अवधिमा भौतिक प्रगति भएको तर वित्तीय प्रगति हुन नसकेको उनको भनाइ छ । भुक्तानी प्रणालीमा ढिला सुस्ती भएको वा भुक्तानीपछि गर्ने गरी काम भएको उनको भनाइ छ ।
यसअघि २० प्रतिशत मोबिलाइजेशन खर्च भएकोमा १० मा झारेको र त्यसलाई पनि शुरुमा ५ र कार्यप्रगति भएपछि ५ प्रतिशत दिने गरेको उनको भनाइ छ ।
भौतिक प्रगति र खर्चको प्रगति सँगसँगै लैजान आवश्यक रहेको खनालले बताए । ‘यो भएन भने राजश्व र स्रोतको व्यवस्थापन गर्न सकिँदैन,’ उनले भने ।
गत वर्ष र यो वर्षमा खर्चको पद्धति उस्तै भएको उनको भनाइ थियो । ‘गतवर्ष भूकम्पबाट नोक्सानी भएका घर निर्माणका लागि १६ अर्ब एकैपटक भुक्तानी दिएका थियौ । आयोजनाको प्रगति यो वर्ष पनि छैन,’ उनले भने ।
उनले अहिलेको अवस्थामा केही आयोजना बेबारिसे बन्ने हुन कि ? भन्ने चिन्ता थपिएको बताए । आगामी दिनमा बहुबर्षिय आयोजनाका लागि एउटा बनेपछि मात्रै अर्कोमा जाँदा राम्रो हुने उनको सुझाव छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले चालु आर्थिक वर्षमा पनि अघिल्ला वर्षको जस्तै वैशाख, जेठमा धेरै बजेट खर्च हुने सम्भावना बढेर गएको बताए ।
मेलम्चीमा ११ प्रतिशत, फास्टट्रयाकमा ५ प्रतिशत बजेट खर्च हुनु चिन्ताजनक भएको उनको भनाइ छ । उनका अनुसार यतिबेला आवश्यकभन्दा बढी बजेट माग भएकाले कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे ।
छलफलमा उर्जा मन्त्रालयले पहिलो चौमासमा ५० वटा विद्युतीय चार्जिङ स्टेसनका लागि सूचना जारी भएको बताए ।
३ सयवटा विद्युतीय बस ल्याउने सरकारको लक्ष्य रहेकाले प्राधिकरण, साझा र काठमाडौं महानगरपालिकाको सहकार्यमा चार्जिङ स्टेसन निर्माण हुने भएको छ ।
अहिलेसम्म १५ वटा स्टेसन निर्माणका लागि नीति बनिसकेको छ । मन्त्रालयका अनुसार यो अवधिमा अुनमानित लक्ष्यमा ९० प्रतिशत भौतिक र ८० प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको यो १८ प्रतिशत हो ।
त्यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको काम ९९ प्रतिशत सकिएको र पाइपलाइनमा जटिल समस्या भएकाले समय लागेको उनको दाबी छ ।
यसअघि टेक्समेको कम्पनीले लाइनिङ गर्दा ढिला र कम गुणस्तरीय पाइप बिछ्याइएकाले उक्त काम एन्ड्रिज हाईड्रो कम्पनीले काम गरिरहेको मन्त्रालयको भनाइ छ ।
माथिल्लो तामाकोशीमा भएको ६ यूनिटमध्ये १ यूनिट अर्थात ७८ (मेगावाट) चालु आवभित्रै सञ्चालनमा आउने र बाँकी रहेको ५ यूनिट चालु आवको सकिएको ३ महिनाभित्रमा सञ्चालनमा आउने उनले बताए ।
त्यस्तै, चार महिनाको अवधिमा ३२ मेगावाट वैकल्पिक उर्जा उत्पादन भएको छ ।
यता सिँचाइतर्फ विनियोजित बजेटको चौथो त्रैमासको लागि अनुमानित बजेटमा ३८ प्रतिशत खर्च भएको र कुल बजेटमा १३.२ प्रतिशत खर्च भएको छ ।
त्यस्तै ३३ वटा ठूला आयोजनामध्ये २३ वटाको ८० प्रतिशत, ७ वटाको ५० र ३ वटाको ५० प्रतिशतभन्दा कम प्रगति भएको छ ।