राजस्व छली गर्ने पेप्सी उत्पादक कम्पनीविरुद्ध २ अर्ब बिगोसहित विभागले गर्यो मुद्दा दायर



काठमाडौं । झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकको प्रयोग गरी राजस्व छल्ने बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज प्रालिका पूर्व तथा वर्तमान सञ्चालकहरु समेत ७ जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

पुस ३ गते बिहीबार विभागले पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्तासहित ७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वरुण वेभरेज नेपाल प्रालि कम्पनीले पेप्सी, स्लाइस, ड्यु, मिरिन्डा, सेभेन अप, ट्रोपिकानालगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ ।

विभागले दायर गरेको मुद्दामा ६४ करोड ९६ लाख २ हजार ३४० विगो तथा बिगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६८० गरी कुल १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपैयाँसम्म जरिवाना र ३ वर्ष सजायको माग दाबी गरिएको छ ।

विभाग बिहीबार पत्रकार सम्मेलनमार्फत् राजस्व चुहावट गर्ने मनसायले झुठ्ठा तथा नक्कली कर विजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी योजनाबद्ध तरिकाले दर्ता गरिएका फार्मबाट जारी गरेका झुठ्ठा तथा नक्कली कर विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएको उल्लेख गरेको छ ।

विभागले उनीहरु विरुद्ध १ अर्ब ६० करोड रुपैयाँको बैंक जमानत लिइसकेको समेत जानकारी दिएको छ ।

विभागको अनुसन्धानले आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७५÷७६ सम्म झुट्टा तथा मुआब्जा कर विजकको कारोबारबाट मुआब्जा करतर्फ २५ करोड ३४ लाख ६ हजार ९४० रुपैयाा र आयकरतर्फ ३९ करोड ६१ लाख ९५ हजार ४ सय रुपैयाँ गरी कुल ६४ करोड ९६ लाख २ हजार ३४० रुपैयाँ राजस्व छली गरेको भेटाएको छ ।

विभागका अनुसार कम्पनी र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्तासँगै रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोद कुमार सिंह र अशोक कुमारबाट असुल उपर गर्ने तथा प्रतिवादीलाई मुद्दा दायर गरिएको हो ।


क्लिकमान्डु