सेनाको अस्पतालबाट महानगरका जेष्ठ नागरिकले सेवा पाउने
काठमाडौं । रोगहरुको उपचार सेवा र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नेपाली सेनासँग सहकार्य सुरु गरेको छ ।
सेनाले सञ्चालन गरेको बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा सञ्चालन जस्ता स्वास्थ्य सेवा प्रदान गर्न सम्झौता भएको छ ।
सम्झौतामा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा महानगरका प्रमुख शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारिता अन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए ।
यस अघि सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सम्झौता गरिसकेको शाक्यले बताए । नेपाली सेनाले भवन बनाउँदा पहिलो पटक महानगरमा आएर नक्सा स्वीकृति गरेको छ । ‘सहरी व्यवस्थापनका लागि नेपाली सेनासँग भएको दक्षता प्रयोग गर्ने गरी हामीले काम गरिरहेका हौं, उनले भने ‘हामी महानगर अस्पताल खोल्ने योजनामा छौं । त्यो तत्काल सम्भव छैन । त्यसैले अहिले जोसँग बिशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरबासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौं ।’
कार्यक्रममा थापाले भने ‘जंगी अड्डाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेका बताए । हामी स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्याबश्यक सेवा दिन तयार छौं । महानगरबाट थालिएको प्रयास बिस्तार हुँदै जानेछ ।’
सम्झौताबमोजिम पहिलो चरणमा महानगरको भौगोलिक क्षेत्रभित्र भएका सेरा नेगेटिभका बिरामीहरुलाई बीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाईलासिस सेवा उपलब्ध गराउनेछ । यसका लागि महानगरले शुरुमा १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ । हेमोडाईलासिसका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ ।
यसरी माग गरिएको रकम कार्य प्रगतिका आधारमा थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।
तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।
महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।
सम्झौता बमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रमुखले तोकेको कार्यपालिका सदस्यको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन हुनेछ । सम्झौता बमोजिमका काम प्रभावकारी रुपमा गर्न÷गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुबै पक्ष समक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने कार्यदललाई कार्य विवरण दिइएको छ । यसमा महानगरसँग सम्बद्ध २ जना अधिकारी सदस्य र सेनाका २ जना अधिकारी सदस्य रहनुहुनेछ । कार्यदलसँगै महानगरको सहरी योजना आयोग, जनस्वास्थ्य महाशाखा र सेनाको अस्पताल तथा पदाधिकारीहरुबीच छलफल र परामर्श गरेर सेवा बिस्तार गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।