चार महिनामा ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा ४ खर्ब १४ अर्ब २ करोड रुपैया मुलुकले व्यापार घाटा खेपेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ वस्तु आयात हुँदा निर्यात भने ३६ अर्ब २८ करोड रुपैयाँको मात्र भएको छ ।
सो अवधिमा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार मुलुकमा गरिने वस्तु तथा सेवा आयातको तुलनमा निर्यात भने बढेको छ । आव २०७६/७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घट्दाँ निर्यात भने निर्यात २३.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ३५.८ प्रतिशतले बढेको थियो भने निर्यात ११ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
यस्तै, वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ । निर्यात तर्फ भने गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
यसैगरि, वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।