हकप्रदको नाममा ठगीधन्दा, हाइड्रोबाट सुरु भएको बिकृति लघुवित्तमा आइपुग्यो



काठमाडौं । अपि पावर कम्पनीले गत वर्ष पुस ४ गते धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद सेयर बिक्री जारी गर्नका लागि आवेदन दियो । कम्पनीले १ः२ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न मागेको अनुमति अहिलेसम्म बोर्डको पाइपलाइनमै छ ।

बोर्डले कम्पनीलाई गत असार २४ गते आवश्यक कागजात माग गरेको थियो । त्यसपछि कम्पनीले बोर्डमा सम्पर्क नगरेको देखिएको छ ।

१ अर्ब १३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ४० करोड २० लाख रुपैयाँ पुग्ने अपेक्षा गरिएको थियो ।

कम्पनीको गत पुस २४ गते १५ औं वार्षिक साधारण सभा गर्यो । त्यसपछि त्यो हकप्रद सेयर कहाँ पुग्यो लगानीकर्ताले अझै पनि थाहा पाउन सकेका छैनन् । त्यो समयमा हकप्रद सेयर ल्याउने भनेर चर्चा गरियो ।

कम्पनीको सेयर मूल्य पनि निकै बढ्यो । तर जो लगानीकर्ताले हकप्रद पाउने नाममा सेयर किनेका थिए । ती लगानीकर्ता डुबेका छन् । यो मात्रै होइन पछिल्लो समयमा माइक्रोफाइनान्स कम्पनीले लगानीकर्ताले निकै ठग्न थालेका छन् ।

यसरी लगानीकर्ता ठग्ने काम स्वरोजगार लघुवित्त विकास बैंकले गरेको छ । त्यसपछि स्पर्श लघुवित्त वित्तीय संस्थासम्म यो क्रम आइपुगेको छ ।

स्वरोजगारले मंसिर २८ गतेको साधारण सभामा १०० हकप्रद ल्याउने एजेन्डा लगेको थियो । यसअघि नै कम्पनीले कुनै संस्थालाई मर्ज वा एक्वायर गरिसकेपछि कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद जारी गर्ने भनेको छ ।

कम्पनीहरुले मर्ज वा एक्वायरपछि कायम भएको पुँजीबाट हकप्रदा जारी गर्ने भनेका छन् । यति राम्रो कम्पनीसँग मर्ज भएको खण्डमा, पुँजी धेरै भएको कम्पनीसँग मर्ज भएको खण्डमा हकप्रद जारी नगर्ने उनीहरुको नीति रहेको जानकारको दाबी छ । जसले गर्दा हकप्रदको लोभमा पर्ने लगानीहरु डुब्ने सम्भावना बढ्दै गएको छ ।

मर्जरपछि अर्को संस्थाले हकप्रद जारी गर्न मान्छ की मान्दैन भन्नेमा अन्योलता छ । आफूसँग भएको सेयर सञ्चालकहरुले बेच्ने र साना लगानीकर्ता जसले हकप्रदको नाममा सेयर किन्ने गरेका छन्, उनीहरु ठगिन थालेका छन् ।

मंगलबार स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको तेस्रो वार्षिक साधारण सभाको सूचनाको विशेष प्रस्तावको ५ नम्बरका लेखेको छ कीः वित्तीय संस्था गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने÷प्राप्ति हुने कार्य समाप्त भए पश्चात कायम हुने चुक्ता पुँजीको १ बराबर १ ले हुन आउने हकप्रद सेयर जारी गर्ने सम्बन्धमा व्यवस्था छ ।

साना कम्पनीलाई हकप्रद ल्याउन अनुमति दिने र उनीहरुले त्यो हकप्रद ल्याउन पछाडिको कारणका बारेमा चासो नदेखाउने र त्यो ल्याए वा ल्याएनन भनेर ध्यान नदिँदा कयौं लगानीकर्ता ठगिरहेका छन् ।

यतिबेला ८/१० करोड पुँजी भएका कम्पनीलाई लगानीकर्ता ठग्ने बाहना हकप्रद सेयर भएको लगानीकर्ताको आरोप छ । ८/१० करोड भएका कम्पनीले हकप्रद निकाल्ने भन्ने अनी राम्रो कम्पनीसँग मर्ज भएपछि पुँजी २० करोड पुर्याउने र हकप्रद ननिकाल्ने प्रचलन पनि बढेको छ । यसले गर्दा लगानीकर्ता ठगिन थालेका छन् ।

नेपाल इन्भेष्टर फोरमका महासचिव राजन लम्साल कम्पनीको लापरबाहीले लगानीकर्ता ठगिएको बताउँछन् । उनका अनुसार नियामक निकायको अकर्मयण्डताले लगानीकर्ता ठगिएका हुन् । उनले भने ‘नियामक निकायले समयमा नै यसमा चासो दिन नसकेको खण्डमा आगामी दिनमा लगानीकर्ता ठगिने क्रम झनै बढ्नेछ ।’

लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्ड भने मौन बसेकाले लगानीकर्ता ठगिन थालेको बताउन थालेका छन् । यता धितोपत्र बोर्डले यो समस्या समाधानका लागि नियमावली संशोधनको क्रममा रहेको जनाएको छ ।

बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधनको लागि अर्थमन्त्रालयमा पुगेको छ । केही समयमा नै संशोधन भएर आउने छ । त्यसमा केही संशोधन भएर आउने छ । नियमावली आएपछि यो समस्यमा समाधान हुने उनको तर्क छ ।


क्लिकमान्डु