अर्थमन्त्रीले लिएको लक्ष्य पुरा नहुँने, यो वर्ष कसलाई दोष दिने ?



काठमाडौं ।  गतसाता विश्व बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गर्यो ।

अर्थमन्त्री खतिवडाले डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकसँग असन्तुष्टी जनाए । उनले विश्व बैंकको प्रक्षेपण गर्ने तरिका गलत भएको र पछि सच्चाउने भन्दै सरकारले लिएको साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने बताए ।

अर्थमन्त्री खतिवडाले बजेट मार्फत साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएका छन् ।

तर,अन्तराष्ट्रिय दातृ निकायले भने चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर नहुँने प्रक्षेपण गरेका छन् ।

अर्थमन्त्रालय आफैले प्रकाशन गरेको विवरणमा चालु आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । मध्यावधी समिक्षा नहुँदै आर्थिक बृद्धिदरको दर घटाएको भन्दै आलोचना भएपछि अर्थमन्त्रालयले पुनः साढे ८ प्रतिशतको लक्ष्य लिएको उल्लेख गरेको थियो ।

अर्थमन्त्री खतिवडाले पहिलो पटक बजेट प्रस्तुत गर्दा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएका थिए ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले ८ प्रतिशतको लक्ष्य पुरा नहुँने बताएपछि अर्थमन्त्री खतिवडाले महत आफ्नो पनि गुरु रहेको भन्दै उनलाई असफल नबनाउन ७.९ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने बताएका थिए ।

तर,गत आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धिदर भएको संसोधित अनुमान आएको छ ।

चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर गर्नको लागि कठिन हुने संकेतहरु देखिएका छन् । चालु आर्थिक वर्षमा धानको उत्पादन राम्रो नहुँने तथ्यांक सार्वजनिक भएको हो । आर्थिक बृद्धिदरमा धानको उत्पादन बृद्धिदरले महत्वपूर्ण हिस्सा ओगटेको हुन्छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग घटेको छ । सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा गर्ने अनुसार कर्जाको बृद्धिदर बैंकिङ क्षेत्रमा देखिएको छैन ।

उपभोग्य वस्तुको नै उपभोग नै घट्ने अवस्था अहिले सिर्जना भएको छ । जसले गर्दा लक्ष्य लिए अनुसारको आर्थिक बृद्धिदर हासिल गर्नको लागि सरकारलाई कठिन हुने देखिन्छ । आयात घटेको कारण त्यसको असर राजस्वमा परेको छ । जसको कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।
गतवर्ष अर्थमन्त्री खतिवडाले कानून निर्माण गर्नुपरेको कारण लक्ष्य अनुसार आर्थिक बृद्धिदर नभएको बताएका थिए ।


क्लिकमान्डु