काठमाडौं महानगरपालिकाका मेयर भन्छन्: टुँडिखेल कसैले बेच्दैन, किन्दा पनि किन्दैनन्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टुँडिखेल कसैले बेच्दा पनि नबेच्ने र कसैले किन्दा पनि नकिन्ने प्रष्ट पारेका छन् । मेयर शाक्यले टुँडिखेलको विषयलाई चर्चामा ल्याएर केहीले मिडिया स्टन्ट गर्न मात्रै खोलेको बताए । महानगरको २५ औं महानगर दिवसको जानकारी गराउन आयोजित कार्यक्रममा शाक्यले यस्तो बताएका हुन् ।

उनले टुँडिखेलमा धरहरा, वीर अस्पताल र दरबार हाईस्कुलको निर्माण सामग्री राखेको र त्यो सामान राख्दैमा टुँडिखेल बेच्यो भनेर विरोधमा उत्रनुको कुनै अर्थ नभएको मेयर शाक्यको भनाई छ । उनले भने,‘त्यो सरकारी सम्पति हो । निर्माण हुने संरचना पनि सरकारी नै हो । कुनै निजी क्षेत्रलाई दिएको होइन । संरचना निर्माण सकिएपछि त्यो स्थान खाली हुन्छ ।’ उनले थपे, ‘अहिले महानगरपालिकाले टुँडिखेल बेच्यो भनेर विरोध गर्नुपर्दैन, त्यो महानगरले बेच्दा पनि बेच्दैन, किन्न पनि कोही आउँदैनन् ।’

छातिमा विरोधको नारा भिरेर टुँडिखेल बेच्न पाइँदैन भन्नुको अर्थ नभएको र सार्वजनिक सम्पति कसैले नकिन्ने जानकारीमा राख्नद मेयर शाक्यले आग्रह गरे ।
मेयर शाक्यले आफु आएपछि नै उक्त स्थानमा सामान राख्न दिएको र त्यसको लागि केन्द्र सरकारले पत्रचार गरेर सहयोग गर्न आग्रह गरेको पनि जानकारी गराए ।
धरहराको माटो मंसिरमा हट्ने र वीर अस्पतालको निर्माण सामग्री हट्न अझै तीन महिना जति लाग्ने शाक्यले बताए ।

उपमेयर हरी प्रभा खड्गी लगायतले पहिला रानीपोखरी देखि त्रिपुरेश्वरसम्म खाली गर्नुपर्छ भनेर विरोधमा उत्रेको र पछि खुल्लामञ्चमा मात्रै सिमित भएको उनको भनाई छ । उनले भने, ‘उहाँहरुले विरोध गरिरहँदा मेयर पनि आउने भनेर प्रचार गर्नु भएको रहेछ, सबै वडा अध्यक्ष, कार्यपालिकाका सदस्यलाई पनि बोलाउनु भएको रहेछ, म गइन, वडा अध्यक्ष पनि २ जना मात्रै जानु भएको रहेछ । पछि १ जना मात्रै वडा अध्यक्ष मात्रै जानु भएको भन्ने सुनेको छु ।’

विरोधमा मेयर नै आउँछ भनेर जनता जुटाउनु खोज्नुको कुनै अर्थ नरहेको र गुठी विद्येयकमा जसरी जनमानस बटुल्न खोज्नुको कुनै अर्थ नरहेको शाक्यको भनाई छ ।
यो सबै कामको जस लिनको लागि राजनीति गरिएको हो, मैले गर्दा हटेको भनेर भन्नका लागि पनि विरोध भएको उनको भनाई छ । ‘टुँडिखेलको भन्दा विकराल अवस्था बसन्तपुरमा थियो । ९ तले दरबारको सामानले पुरै सडक अवरोध थियो । गद्धि बैठक बनेपछि अहिले आधा बाटो खुलेको छ । बिकल्प नभएपछि हामीले केही भन्न सकिँदैन’ उनले भने ‘विरोधको लागि झोछेमा बैठक बस्दा बसन्तपुर नदेख्ने अनी टुँडिखेलको विरोध गर्नु भनेको राजनीति गर्न खोजेको हो ।’

आन्दोलन गर्नेहरुले एजेन्डा थप्नको लागि नेपाली सेनाको मुख्यालय सार्ने सम्मको कुरा गरेको पनि जानकारी गराए । उनले भने ‘त्यो बेला मैले भिमसेनदास प्रधानलाई भने ‘‘तपाई मन्त्री हुँदा केही पनि नगर्ने, अनी मन्त्रीबाट खुस्केपछि सेनाको मुख्यालय सार्नुपर्यो भन्दै हिँडने’’ त्यो बेला किन मन्त्रिपरिषदमा प्रस्ताव नलगेको भनेको, उहाँले मेरो कुरा कसैले सुनेनन् भन्नुभयो । अनी त्यसको दोष मैले भोग्ने हैन नी । मन्त्रिपरिषदलाई सहमति गराउन नसक्नु उहाँको समस्या हो ।’

सेनाको मुख्यालय सार्ने भन्ने कुरा केन्द्र सरकारको भएकोले हामीले बोल्नुको कुनै अर्थ नरहेको उहाँको भनाई छ ।

यो विषयमा चर्चामा आउनको लागि उपमेयरले विरोध गर्नु भन्दा पनि भोली के हुन्छ भनेर बिचार गर्न आवश्यक रहेको शाक्यको भनाई छ । उनले भने ‘यसको बाहिर विरोध गर्नुको तर्क छैन । जे हुन्छ कार्यपालिकामा सर्बसम्मत निर्णय हुन्छ,बाहिर बोलेर केही हुँदैन ।’

यस विषयमा मेयर र उपमेयर दुवै जनालाई सँगै राखेर कुरा गरेको खण्डमा वास्तविक कुरा बाहिर आउने बताए । दुई जनालाई छुट्टा छुट्टै सोध्दा बास्तविकता बाहिर नआउने उनको भनाई छ ।

मंसिर २८ र २९ गते मनाउन लागेको महानगर दिवसमा मखन कुमारी र किलागल कुमारीलाई मासिक भत्ताको घोषणा हुने भएको छ । कुमारीलाई सरकारले बेवास्था गर्यो भन्ने गुनासो बढेपछि मासिक १५ हजार भत्ता महानगरले दिने मेयर शाक्यले बताए ।

दिवसमा व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने करदातालाई सम्मान गर्ने बताइएको छ । मेयर शाक्यले महानगर दिवसको अवसरमा कामपा सहरी योजना आयोगले माइतिघरदेखि तीनकुनेसम्म साइकल र्यालीगर्ने पनि बताए । उक्त स्थानमा प्रस्तावित साइकल लेनको प्रबद्र्धन गर्ने उद्देश्यले र्याली गर्न लागेको बताए ।
उनले कामनपा ६ बौद्दको राम हिटीमा शनिबार ३ वटा दमकल अट्ने भवनको उदघाटन गर्ने पनि जानकारी गराए । उनले भने ‘हामी अन्य नाकाहरुमा पनि दमकल राख्ने भवन बनाउने क्रममा छौं ।’

मेयर शाक्य उपत्यकाका विभिन्न सहरका सडकमा मान्छे बस्ने गरेको र चिसोका कारण मृत्यु हुने गरेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सामाखुसी र बुढानिलकण्ठमा बास बस्ने व्यवस्था मिलाएको बताए । कुनै पनि मानिस सडकमा बस्न नपरोस भनेर उक्त स्थानमा बस्ने व्यवस्था मिलाएको उनको भनाई छ ।


क्लिकमान्डु