यी हुन् सञ्चालक भएर बैंकमै फर्किएका पूर्व सीइओहरु, को कहाँ छन् ?



काठमाडौं । बैंकमा जागिर खानेहरुको अन्तिम लक्ष्य हो- बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीइओ बन्ने । इन्ट्री लेभलको जुनियर कर्मचारी होस् वा सिनियर म्यानेजमेन्ट उ भित्र सीइओ बन्ने तीब्र आकांक्ष हुन्छ ।

किनभने सीइओ भनेको सम्बन्धित संस्थाको प्रधानमन्त्री हो । बैंक सञ्चालन गर्ने आधिकारिक व्यक्ति सीइओ हो । सञ्चालक समिति भनेको त संसद जस्तै हो । सञ्चालक समितिले बनाएको नीतिको कार्यान्वयन सीइओले नै गर्छ ।

त्यतिमात्र कहाँ हो र ? आमसञ्चार माध्यमहरुमा पनि सीइओहरु छाउँछन् । त्यसैले सीइओ पद ग्ल्यामर पनि हो ।

सबैभन्दा महत्वपूर्ण कुरा त आकर्षक तलब/भत्ता तथा सेवा/सुविधा हो । सरकारीबाहेक अधिकांश वाणिज्य बैंकका सीइओहरुले वार्षिक डेढदेखि अढाई करोड रुपैयाँसम्म तलब/भत्ता तथा सेवा सुविधा लिँदै आएका छन् ।

सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेल भन्छन्, ‘यस्ता व्यक्तित्वहरु सञ्चालक भएर बैंकमा आउँदा समग्र बैंकिङ क्षेत्रलाई नै धेरै ठूलो फाइदा हुन्छ ।’

आकर्षक तलब/भत्ताका कारण पनि यो पदमा पुग्न चाहनु धेरैको आकांक्ष हुनु स्वभाविक हो । आखिर धेरै पैसा कमाएर धनी हुने रहर कस्लाई पो हुँदैन र ?

नियामक राष्ट्र बैंकको नियम अनुसार एउटै व्यक्ति एउटै बैंकमा लगातार २ कार्यकालभन्दा बढी सीइओ हुन पाउँदैन । त्यसैगरी सीइओ बन्नका लागि उमेरको हद पनि तोकिएको छ ।

त्यसैले बैंकमा सीइओ भइसकेका व्यक्तिहरु कोही दुई कार्यकाल सकिएपछि बैंकबाट बाहिरिन्छन् । बैंकबाट बाहिरिएका अधिकांश सीइओहरु बैंकिङ क्षेत्र छाडेर अन्य क्षेत्रमा जमेर बसेका छन् ।

कुन बैंकका सीइओ कसको प्रोडक्ट ?

उदाहारणका रुपमा सीइओहरुका पनि गुरु मानिने शशिन जोशीलाई लिऔं । नविल बैंकको सीइओबाट बाहिरिएका जोशी अहिले जावलाखेल डिस्टीलरीको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेर बसेका छन् ।

कतिपय पूर्वसीइओहरु विभिन्न संस्थामा कन्सल्ट्यान्ट भएर काम गरिरहेका छन् भने कतिपय व्यापार व्यवसाय गरेर बसिरहेका छन् । तर, आधा दर्जन बैंकका पूर्वसीइओहरु भने बैंकिङ क्षेत्रमै सञ्चालक भएर फर्किएका छन् ।

यसरी बैंकमै सञ्चालक भएर फर्किएका पूर्वसीइओहरुले यो क्षेत्रमा ठूलो योगदान दिने विश्वास गरिएको छन् ।

‘राजनदाई अध्यक्ष भएर आउँदा मलाई काम गर्न धेरै सहज भएको छ, किनभने उहाँले सीइओ भएर काम गर्दा के कस्ता समस्या आइपर्छन् र बैंक कसरी चलाउनुपर्छ भन्ने राम्रोसँग थाहा छ,’ सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेल भन्छन्, ‘यस्ता व्यक्तित्वहरु सञ्चालक भएर बैंकमा आउँदा समग्र बैंकिङ क्षेत्रलाई नै धेरै ठूलो फाइदा हुन्छ ।’

कुन पूर्वसीइओ कुन बैंकमा फर्किए ?

राजनसिंह भण्डारीः सिटिजन्स बैंकको स्थापना कालदेखि नै सीइओ रहेका भण्डारीले ३ कार्यकाल पूरा गरेपछि बैंकबाट बाहिरिए । ०७५ पुस १६ गते भण्डारीको कार्यकाल सकिएको थियो । त्यसको भोलिपल्टदेखि नै उनी बैंकको प्रमुख सल्लाहकारको भूमिकामा बसे । पुस १ गतेदेखि कामू सीइओको जिम्मेवारी पाएका गणेशराज पोखरेललाई सञ्चालक समितिले ०७५ चैत १८ गते सीइओमा नियुक्ति गर्यो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका बैंकको सीइओबाट बाहिरिएको ७ महिनापछि अर्थात् ०७६ असोज १० गते भएको वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्वाचित भए । र, सोही दिन बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई बैंकको अध्यक्षमा निर्वाचित गर्यो ।

राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए

प्रखर बैंकर भण्डारी अध्यक्षको रुपमा बैंकमा रि-इन्ट्री गरेका हुन् । भण्डारीकै सक्रियतामा २०६४ साल बैशाख ७ गते ७७ जना संस्थापकको लगानीबाट सिटिजन्स बैंक श’रु भएको हो । ५६ करोड चुक्ता पुँजीबाट सुरु भएको सिटिजन्स बैंकको अहिले चुक्ता पुँजी सवा ८ अर्ब छ भने सम्पत्ति ८१ अर्ब रुपैयाँभन्दा बढी छ ।

उपेन्द्र पौडेलः एनएमबि बैंकको सीइओबाट बाहिरिएका भद्र बैंकर उपेन्द्र पौडेल केही समय खाली बसे । पौडेल एनएमबिमा ४ कार्यकाल सीइओ भएर काम गरेपछि २०७३ चैतमा बाहिरिए ।

पौडेलले ७ करोड चुक्ता पुँजी भएको नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई क वर्गको एनएमबि बैंकमा स्तरोन्नति गराउँदै ७ अर्ब चुक्ता पुँजी पुर्याएका थिए ।

बैंकर उपेन्द्रः जोगले हुन्छ भेट, मायाँले हुन्छ सम्झना…

२०७४ साल मंसिर १९ गतेदेखि लागू हुनेगरी बैंक सञ्चालक समितिले पौडेललाई एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गराउँदै सञ्चालकमा नियुक्त गरेको हो । बिनोद चौधरी मूख्य लगानीकर्ता रहेको एनबी इन्टरनेशनलको नबिल बैंकमा ५० प्रतिशत सेयर स्वामित्व छ ।

पौडेलले बैंकर्स संघको अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

राधेश पन्तः ग्ल्यामर बैंकर राधेश पन्त पनि बैंकमा सञ्चालकको रुपमा बैंकिङ क्षेत्रमै फर्किएका छन् ।

कुमारी बैंकको सीइओ छाडेपछि लगानी बोर्डको सीइओ बन्न पुगेका पन्त दोस्रो कार्यकालका लागि लगानी बोर्डमा निरन्तरता नपाएपछि २०७३ चैत ५ गते बैंक अफ काठमाण्डूको सञ्चालकमा निर्वाचित भएका हुन् ।

पन्त पनि बैंकर्स संघका पूर्वअध्यक्ष हुन् ।

कृष्णप्रसाद शर्माः पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएपछि शर्माले केही समय कन्सल्ट्यान्टको रुपमा काम गरे ।

त्यसपछि चौधरी ग्रुपमा काम गरे । चौधरी ग्रुपमा रहँदा शर्माले एनबी इन्टरनेशनलका तर्फबाट नविल बैंकको सञ्चालक पनि भए । त्यसको केही समयपछि चौधरी ग्रुपबाट बाहिरिए ।

शर्माको ठाउँमा चौधरी ग्रुपले एनबी इन्टरनेशनलको तर्फबाट नविल बैंकको सञ्चालकमा उपेन्द्र पौडेललाई पठायो । शर्मा ०७५ भदौदेखि ग्लोबल आइएमइ बैंकमा सञ्चालको रुपमा कार्यरत छन् । उनले वाणिज्य बैंकको सुधारमा पनि सक्रियतापूर्वक काम गरेका थिए ।

सुदेश खालिङः लक्ष्मी बैंकको सीइओबाट ०७५ असोजमा बाहिरिएका खालिङ ०७६ मंसिर ६ गतेदेखि सिटिजन्स बैंकको सञ्चालकको रुपमा कार्यरत छन् ।

बैंकिङ क्षेत्रमा ३ दशकको अनुभवले खारिएका खालिङलाई सिटिजन्स बैंकले स्वतन्त्र सञ्चालकमा नियुक्ति गरेको हो ।

अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकर मानिन्छन् । वाणिज्य बैंकमा सहायकबाट बैंकिंङ करियर शुरु गरेका उनी लक्ष्मी बैंकको सीइओ भएर बाहिरिएका थिए ।

उदय उपाध्यायः कुमारी बैंकको सीइओबाट बाहिरिएका उदय उपाध्याय ०७६ भदौ १३ गतेदेखि नविल बैंकको सञ्चालकमा नियुक्ति भए ।

उपाध्यायलाई चौधरी ग्रुपले एनबी इन्टरनेशनलका तर्फबाट नविल बैंकमा सञ्चालकमा पठाएको हो ।

नविलको सञ्चालक हुनुअघि उनी चौधरी ग्रुपले प्रवद्र्धन गरेको युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष थिए ।


पुष्प दुलाल