राजस्वको ‘ग्याप’ बढेपछि ‘एक्सन’मा अर्थमन्त्री, चेकजाँच कडा गर्न निर्देशन



काठमाडौ । सरकारले उठाउनुपर्ने राजस्वको लक्ष्य र असुल भएको राजस्वमा ठूलो ‘ग्याप’ बढेपछि अर्थमन्त्री डा युवराज खतिवडा ‘एक्सन’मा उत्रेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि नै महिना अनुसार तोकिएको लक्ष्यमा राजस्व उठेको छैन । आयात घट्दा राजस्व असुली प्रभावित भएको हो ।

कात्तिक महिनासम्ममा लक्ष्य अनुसार राजस्व भेट्न करिब ७४ अर्ब रुपैयाँ ‘ग्याप’ छ ।

अर्थमन्त्री खतिवडाले केही दिन अगाडि अर्थमन्त्रालयमा राजस्वको समीक्षा गरेका थिए । राजस्व चुहावट सम्बन्धी उच्चस्तरिय समितिको बैठकमा अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रणका लागि विभागिय प्रमुख र सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

राजस्व चुहावट नियन्त्रण गर्नको लागि अर्थमन्त्री खतिवडाले भन्सार विभाग,आन्तरिक राजस्व विभाग,राजस्व अनुसन्धान विभाग सुरक्षा निकाय लगायत संवेदनशिल निकायहरुबाट भन्सार नाकामा अनुगमन गर्न निर्देशन दिएका छन् ।

यस्तै अर्थमन्त्री खतिवडाले भन्सार नाकाबाट अस्थाई रुपले प्रवेश गर्ने यात्रुबहाक सवारी साधन र अन्य निजी सवारी साधनको समेत कडाईका साथ चेकजाँच गर्न निर्देशन दिए । संवेदनशील भन्सार नाकामा भन्सार र प्रहरीबीच समन्वयन गरेर गस्ती परिचालन गर्ने र सुरक्षा निकाय र राजस्व प्रशासनबीच सूचना आदान प्रदान गर्ने रहेको छ ।


क्लिकमान्डु