यूके पढ्न जाँदै हुनुहुन्छ ? पीएसडब्ल्यु कस्ले पाउँछन्, कस्ले पाउँदैनन् ?



काठमाडौं । केही वर्षअघिसम्म उच्च शिक्षाका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीहरुको संख्या अत्यधिक थियो । सबैभन्दा धेरै अष्ट्रेलिया नै जान्थे । तर अहिले विस्तारै कमी आएको छ । भने त्यो भीड अहिले बेलायततर्फ बढेको छ ।

‘विगतमा वर्षमा १५० को हाराहारीमा मात्रै जाने गरेकोमा अहिले ३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि युके जानका लागि एनओसी लिएको देखिन्छ,’ कन्स्लटेन्ट निरञ्जन पन्तले भने, ‘केही समययता यूकेमा पढ्न जानेहरु बढेका छन् ।’

र, तीनै विद्यार्थीहरुले यूकैमा पोस्ट स्टडी वर्क अर्थात् पीएसडब्ल्युको सुविधा पाउँछन कि पाउँदैनन भन्ने अन्योलमा भएको पाइन्छ । यद्यपि नेपालमा रहेका कन्सलटेन्सीहरुले भने विद्यार्थी आकर्षित गर्नका लागि पीएसडब्लयू पाउने ठोकुवा गर्दै विद्यार्थीलाई करिअर काउन्सिलिङ समेत गरिरहेका छन् । जसले विद्यार्थीमा अन्योलता छाएको छ ।

यूकेले विदेशी विद्यार्थीहरुका लागि पीएसडब्ल्युको सुविधा दिएको छ तर सर्त समेत अगाडि सारेको छ । जसमा उनले सन् २०२१ को समरसम्मपछि मात्रै अध्ययन पूरा गर्नेका लागि उक्त सुविधा दिएको हो । अर्थात् यूकेमा अहिले अध्ययन गरिरहेका विद्यार्थीहरु जसको सो समयभन्दा अघि कोर्स पूरा हुन्छ उनीहरुले यो सुविधा पाउँदैनन् ।

‘सन् २०२० को जनवरीमा एक वर्षको कोर्सका लागि जानेले उक्त सुविधा पाउँदैन भने २ वर्षको कोर्सका लागि जानेले सो सुविधा पाउँछ यसरी बुझ्नुपर्छ,’ कन्सलटेन्ट पन्तले भने ।

जसलाई यूकेले ‘ग्राजुएट इमिग्रेसन रुट’ भनेको छ । जसले विद्यार्थीलाई अध्ययन पूरा भइसकेपछि यूकेमै बसेर २ वर्षसम्म काम गर्ने सुविधा प्रदान गर्छ । जसमा स्पष्टसँग के भनिएको छ भने, ‘जोसँग सन् २०२१ को समरसम्म् ट्रायर फोर भिसा छ उक्त विद्यार्थी पीएसडब्ल्युका लागि योग्य रहन्छ, त्यसैले जो व्यक्ति अहिले १ वर्षे मास्टर्स अध्ययन गरिरहेको छ उसले उक्त सुविधा पाउँदैन ।’ तर सन् २०१८ मै तीन वर्षे कोर्स अध्ययन गरिरहेको विद्यार्थीले भने उक्त नियमको फाइदा लिन पाउँछ ।


क्लिकमान्डु