के अर्थमन्त्री खतिवडाकै कारण सेयर बजार घटेको हो ? यसो भन्छन् लगानीकर्ता



काठमाडौं । डा. युवराज खतिवडाले अर्थमन्त्रीका रुपमा झण्डै २ वर्षअघि २०७४ फागुन १४ गते पदभार ग्रहण गरे । अर्थशास्त्र बुझेका र यसका आयामहरुलाई सुक्ष्मरुपमा केलाउन सक्ने अर्थमन्त्रीका रुपमा प्रचार भइरहँदा सेयर लगानीकर्ताको आशा पनि सेयर बजारको ग्राफ उकालो लाग्नेमा उत्तिकै थियो ।

उनी अर्थमन्त्री हुँदा नेप्से १३५८ अंकमा थियो । तर लगानीकर्ताको अपेक्षा विपरीत सेयर बजार बुल हुनुका साटो बियरिस भयो । र, यो लगातार भइरह्यो ।

झण्डै २ वर्षपछि मंसिर १८ गते बुधबारसम्म आइपुग्दा नेप्सेको अंक २३४ अंकले घटेर ११२४.४७ अंकमा आइपुगेको छ । लामो समयदेखि घटेको सेयर बजारमा गिरावट अझै जारी छ । एकाध दिन सेयर बजारमा उछाल देखिने संकेत भए पनि अन्य दिनमा गिरावटले फेरि निरन्तरता पाउँदै आएको छ ।

सेयर बजारमा आएको बियरिस ट्रेन्डलाई अर्थमन्त्रीको सोच र उनले लिएका निर्णय नै कारक हुन् भन्नेमा अधिकांश लगानीकर्ताको ठम्याइ छ ।

बजारमा आएको गिरावट र अर्थमन्त्रीले यसमा दोष खेप्दै आएका छन् । के साँँच्चै अर्थमन्त्री खतिवडाकै कारण बजार घटेको हो त ? यो प्रश्न यतिबेला लगानीकर्ताको मनमा उब्जेको प्रश्न हो ।

सेयर बजारमा गिरावट आएपछि सेयर लगानीकर्ता दबाब समूहका अधिकारीहरुले बुटवल, चितवनमा पुगेर लगानीकर्तासँग अन्तक्रिया गरेका छन् । त्यो क्रममा लगानीकर्ताहरुले मन्त्रीकै कारण बजार घटेको बताएका थिए ।

सेयर लगानीकर्ता तथा सेयर बजारमा जानकारहरु सोलोढोलोमा अर्थमन्त्रीलाई देखाएर बजार घट्यो भनेर भन्न नहुने बताउँछन् । सेयर बजारका जानकार तथा पूर्व बैंकर्स अनलराज भट्टराई नियामक निकाय धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले बजारको विकासको लागि सकारात्मक वातावरण बनाउनुपर्ने बताउँछन् ।

बजार घट्नुमा अर्थमन्त्रीलाई दोष दिनुको कुनै आधार नभएको उनको भनाइ छ । ‘यो बेला दोष देखाउनेभन्दा पनि नीतिगत सुधार आवश्यक छ’ उनले भने ।

यतिबेला १०० रुपैयाँमा किनेको सेयर ७० रुपैयाँ बिक्री हुनु भनेको सेयर बजारमा फन्डामेन्टल समस्या छ भनेर बुझ्न आवश्यक छ । अहिले पुँजी बजारमा मन्त्रीको कारण सुस्तता आउनुभन्दा पनि लगानीकर्ताको मनोबल नै गिराको उनको भनाइ छ ।

बैंकहरुले दिएको कर्जामा १.५ प्रतिशतको हाराहारीमा मात्रै धितो कर्जा गएको छ । यसलाई बढाउन आवश्यक रहेको भट्टराईले बताए । उनले भने, ‘अहिले ३७ देखि ४० अर्ब मात्रै सेयर बजारमा ऋण प्रवाह भएको छ । पहिला सेयर धितोकर्जामा जाने लोनमा कुनै बन्देज थिएन, पछि बन्देज लगाइयो । अब यसलाई पुरानै अवस्थामा ऋण दिने व्यवस्था आवश्यक छ ।’
सहजै ऋण प्रवाह गरेको खण्डमा बजार स्वस्थ छ भनेर देखाउन सहज हुने उनको तर्क छ ।

सेयर बजारमा अल्पकालिन र दीर्घकालीन लगानीकर्ता छन् । उनीहरुलाई छुट्याउनु पर्छ । र, त्यहीअनुसार नीतिगत व्यवस्था गर्न सकेको खण्डमा बजारमा बजार दीर्घकालीन सुधार आउने भट्टराईको बुझाइ छ ।

यो बेलामा नीतिगत सुधार गर्न नसकेको खण्डमा आईपीओ, एफपीओ बिक्री हुन छोड्छ । यतिबेला लगानीकर्ताले नाफा कमाउन नसकेपछि नोक्सान हुन नसक्ने बातारबण बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

सेयर बजारमा लगानीकर्ता आउने समयमा लगानीयोग्य रकमको अभाव, प्यानकार्डको चर्चालाई अतिरञ्जित गरेको कारण समस्या सिर्जना भएको उनको भनाइ छ । भट्टराईले भने, ‘सेयर बजारमा प्यान कार्डको चर्चा गरियो, यसको वास्तविकता फरक भएपनि यस विषयलाई अतिरञ्जित गरेका कारण नयाँ लगानीकर्ता उत्साहित हुन नसकेका हुन् ।’ त्यो समयमा नियामकले वास्तविकता बुझाउन नसकेको उनको गुनासो छ ।

यता नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि अर्थमन्त्रीको कारण बजार घटेको मान्न तयार छैनन् । उनी भन्छिन, ‘अर्थमन्त्री आएको समयमा उहाँको अभिव्यक्तिको कारण बजारमा केही गिरावट आएको हो । अहिले उहाँको भनाइले बजार घटेको हो जस्तो मलाई लाग्दैन ।’

यतिबेला ठूला घराना बजारमा नआउँदा समस्या भएको उनको बुझाइ छ । लगानीकर्ताको मनोबल बढ्ने र ठूला घराना बजारमा आउने हो भने कुनै समस्या नहुने उनको बुझाइ छ ।

‘मन्त्री आएपछि पुँजी बजारको सुधारको लागि भन्दै समिति बनाएर ५८ बुँदा ल्याइयो, त्यसको कार्यान्वयन गर्नको लगि तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा कार्यान्वयन गर्ने भनियो । त्यसको केही बुँदा कार्यान्वयनको चरणमा रहेको छ ।

‘बजारमा कुनै–कुनै समयमा कालो धनको कुरा आउने गरेको छ । यसले बजारमा असर पारेको छ । यस्ता विषयमा नियामकले अलि ध्यान दिएको खण्डमा लगानीकर्ताको मनोबल फर्कन सक्छ,’ उनले भनिन् ।

बजारमा देखिएको नैराश्यता फर्काउन अर्थमन्त्री वा प्रधानमन्त्रीले अधिकारिक धारणा सार्वजनिक अनिवार्यरुपमा गर्न आवश्यक रहेको उनको भनाइ छ ।

याता सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल पनि बजार घट्नुमा अर्थमन्त्रीलाई दोष दिन नमिल्ने बताउँछन् ।

‘बजारमा लगानीकर्ता निराश हुनुमा विभिन्न कारणमध्येको एक कारणको रुपमा लिन सकिन्छ तर पूर्णरुपमा अर्थमन्त्रीको कारण बजार घटेको भनेर भन्न सकिँदैन’ उनले भने ।

उनका अनुसार ब्याजदरको कारण बजारलाई प्यानिक बनाएको हो । सेयर बजार सुधारका लागि अर्थमन्त्रीले समिति गठन गरेर बजारको सुधारको लागि भन्दै ५८ बुँदा ल्याएपनि त्यसको कार्यान्वयन भए नभएको मूल्याङकन, अनुगमन गर्न नसक्नु मन्त्री डा. खतिवडाको कमजोरी भएको फुल्लेलको तर्क छ ।

‘अर्थमन्त्रीले ५८ बुँदा कार्यान्वयन गर्ने सन्दर्भमा पनि त्यो कार्यान्वयन भयो कि भएन ? आफूले दिएको निर्देशन कुन– कुन निकायले पालना गरे, कसले गरेनन् ? भारित औषत गणना विधि कार्यान्वयनका के भइरहेको छ भन्ने कुरा उहाँले बुझ्न चाहनु भएन’ उनले भने ।

जसले लगानीकर्ता असन्तुष्ठ बनेको उपाध्यक्ष फुल्लेलको बुझाइ छ ।

सरकारले नेपालमा अर्थतन्त्रमा पुँजी बजार पनि एक हो भनेर बुझेको भए बजारमा सुधार देखिने उनको तर्क छ ।

आगामी दिनमा मन्त्रीलाई देखाएर बजार बढेन भन्नुभन्दा पनि अब बजार अपटे«न्डमा जाने समय आएकाले लगानीकर्ताले यो समयमा राम्रो कम्पनी छानेर, त्यो कम्पनीकाने बारेमा अध्ययन गरेर लगानी गर्ने समय आएको उनको भनाइ छ ।

‘चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफा राम्रो छ । अर्थमन्त्रीलाई दोष देखाउनुभन्दा पनि राम्रो कम्पनी छानेर लगानी गर्दा हुन्छ’ उनले भने ।

उक्त अन्तरक्रियामा सहभागीमध्येका लगानीकर्ता गोपाल स्वामी अर्थमन्त्री डा. खतिवडाको भूमिकाले बजारमा केही न केही असर पारेको बताउँछन् ।

‘अनलाइनमा समस्या छ, बोर्डमा अध्यक्ष छैनन्, ५८ बुँदा कार्यान्वयन कहाँ पुग्यो, अर्थमन्त्रीले नै मेगा मर्जरको कुरा गर्नुभएको थियो त्यो कहाँ पुग्यो ?’ उनले भने ‘अर्थमन्त्री भनेको हेडसर हो, यो कुरामा उहाँले अनुगमन गर्नुपर्ने हो, यसमा उहाँ चुक्नुभयो, कतिपय ठाँउमा उहाँ व्यक्तिगत इगोमा जानुभयो ।’

बजार घटेको समयमा सरोकारवाला निकायसँग बजारको दीर्घकालिन विकासका लागि के गर्न सकिन्छ भनेर मन्त्रीले राय नलिएकाले पनि लगानीकर्ताको मनोबल गिरेको स्वामीको भनाइ छ ।

सेयर बजारको सिजनको समय (फागुनदेखि भदौसम्म) मा पनि पुँजीगत लाभकर लगायतका कुरा निकालेर बजारमा निराशा छाएको उनको बुझाइ छ । त्यो समयमा लगानीकर्तामा परेको नराम्रो छाप अझै पनि अर्थमन्त्रीले हटाउन नसकेको स्वामीले बताए ।

यता बुटलवका लगानीकर्ता माधव पाण्डे सेयर बजारको विकास गर्नको लागि खालका नीत आवश्यक रहेको बताउँछन् । लामो समयदेखि घटेको बजारलाई कसरी सुधार्न सकिन्छ भनेर अर्थमन्त्री डा. खतिवडाले लगानीकर्ताको राय सुनेर अघि बढन आवश्यक रहेको बताए ।

दोश्रो बजार सातै प्रदेश बिस्तार हुँदा पनि बजार सिमित ब्यक्तिको हातमा हुँनु, जलविद्युत कम्पनीको सेयर अकिंत मुल्यमा समेत कारोबार नहुने, साधारण सेयर समेत बिक्री हुन छोडेको समयमा अर्थमन्त्रीले लगानीकर्ताको आवाज सुन्नुपर्ने उनको तर्क छ ।

मन्त्री खतिवडाले उत्पादनमुलुक कम्पनीहरुलाई बजार प्रवेश गराउने, अधिक माग र आपूर्तिलाई संतुलन राख्न मार्केट मेकर, बार्षिक नाफा घाटाको आधारमा कर समायोजन गर्ने ब्यबस्था, अल्पकालीन र दीर्घकालीन कारोबारका आधार पुँजीगत लाभकर ब्यबस्थाको लगानीकर्ताले अपेक्षा गरेपनि त्यसो हुन नसक्दा लगानीकर्तामा निराशा छाएको पाण्डेको बुझाई छ ।

बजारको विकास हुने हो भने सेयर लगानीकर्ता, अर्थमन्त्री, नियामक निकाय एउटै मन्चमा बसेर खुला छलफल गरेर अघि बढ्नुको विकल्प नभएको पाण्डले बताए ।


क्लिकमान्डु