मर्ज भएका बैंक तथा वित्तीय संस्थाका सीइओहरु कहाँ के गर्दैछन् ?

दिलु कार्की २०७६ मंसिर १७ गते १८:५८ मा प्रकाशित

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमाअत्याधिक चर्चाको विषय हो, बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र प्राप्ति । नेपालमा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न/गाभिनका लागि सरकारले दशकअघि प्रोत्साहनको नीति अबलम्बन गर्यो । उक्त समयमा २१८ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा थिए ।

सरकारले बैंक तथा वित्तीय संस्था ऐन-२०६३ को परिच्छेद १० को दफा ६८ र ६९ मा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन सक्ने व्यवस्था गरेको थियो ।

त्यसलाई राष्ट्र बैंकले मर्जर सम्बन्धी कार्यविधि कार्यान्यवनमा ल्याएको थियो । जसमा एउटा बैंक तथा वित्तीय संस्था अर्को बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान चाहेमा मर्जर हुन चाहने संस्थाले आ-आफ्नो साधारण सभाबाट सो सम्बन्धी विशेष प्रस्ताव पारित गरि स्वीकृतिको निमित्त राष्ट्र बैंकमा संयुक्त निवेदन दिएर राष्ट्र बैंकको अनुमतिमा एकिकृत कारोबार गर्न सक्ने उल्लेख थियो ।
त्यसयता राष्ट्र बैंकबाट अनुमति लिएर लघुवित्त संस्था बाहेक इन्फास्ट्रक्चर बैंक मात्र स्थापना भए ।

त्यसबेलाको मर्जर नीति स्वत पुँजी वृद्धि गर्न र पुँजी वृद्धिका लागि संस्था आपसमा मर्जर भएर संख्या घटाउने लक्ष्य राष्ट्र बैंकको थियो । राष्ट्र बैंकले लिएको लक्ष्य सोचे अनुरुपले सफल भएन ।

मर्जर तथा एक्वायरको नीतिले मात्रै प्रभावकारी काम गर्न नसकेपछि राष्ट्र बैंकले दबाब दिने नीति अख्तियार गर्यो । र, २०७२÷७३ को मौद्रिक नीतिमार्फत् ४ देखि २५ गुणाले पुँजी बढाउनु पर्ने व्यवस्था गर्यो । पुँजी बढाउने टाइमलाइन थियो २०७४ असार मसान्त ।
राष्ट्र बैंकको यो नीतिपछि धेरै संस्थाहरु मर्जरमा जान बाध्य भए ।

मर्जर र एक्वायरकै कारण हाल नेपालमा २८ वाणिज्य बैक, २५ विकास बैंक र २२ फाइनान्स कम्पनी र ९१ वटा लघुवित्त संस्थागरि १६६ वटामा बैंक वित्तीय संस्थाहरु छन् ।

राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिमा सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर र एक्विजिसनमा सामेल भएका छन् । कुनै समय ८९ को संख्यामा रहेका विकास बैंक हाल २५ र ७६ वटा रहेका फाइनान्स कम्पनी २२ वटामा झरेका छन् । यो अवधिमा ४ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सामेल भएर हाल २८ वटामा झरेका छन् ।

पुँजी बढाउन संस्थाहरुले मर्जर तथा एक्वायर, हकपद सेयर र बोनस सेयर जारी गर्ने नीति लिए । अहिले सञ्चालनमा रहेका संस्थाहरुले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याइसकेका छन् ।

मर्जरले वित्तीय संस्थाको संख्या त घटायो नै तर बैंक तथा वित्तीय क्षेत्रबाट दक्ष तथा अनुभवी बैकरहरु पनि गुमाएको छ । मर्जर तथा एक्विजिसनले वित्तीय संस्थाका धेरै प्रमुख कर्यकारी अधिकृत तथा उच्च व्यवस्थापनका कर्मचारी बैंकिङ क्षेत्रबाट बाहिरिएका छन् ।

तोकिएको पुँजी वृद्धि गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले आफुभन्दा सानो संस्थालाई मर्जर तथा एक्वायर गरेर पुँजी पुर्याएका थिए भने हाल पुँजी वृद्धि गरिसकेका केही बैंक तथा वित्तीय संस्थाहरु पनि धमाधम मर्जर भइरहेका छन् ।

राष्ट्र बैंकको वाध्यात्मक पुँजी वृद्धिको नीतिमा मर्जर वा एक्विजिसनमा गएका संस्थाको सीइओ तथा उच्च व्यवस्थापनका कर्मचारीहरु मर्जर भएको संस्थामा एकिकृत कारोबारमा गर्दा कार्यरत पदभन्दा तल्लो तहमा काम गर्नु पर्ने बाध्यता हिजो पनि थियो । र, आज पनि त्यहि परम्परा वित्तीय क्षेत्रमा चलिरहेको छ ।

मर्जर तथा एक्विजिसनमा सामेल भएका केही नाम चलेका बैंकरहरु वित्तीय क्षेत्रबाट नै सन्यास लिएर अन्य पेसा अंगालेका छन् भने केही बैंकरले बैंकिङ करियरलाई त्यागेर बीमा व्यवसायमा संलग्न भएका छन् । साथै केही बैंकर भने बैंकिङ क्षेत्रमा नै उच्च व्यवस्थापनमा रहेर काम गरिरहेका छन् ।

मर्जरमा सामेल भएर गुमनाम भएको बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा पहिले तत्कालिन किष्ट बैंक र सबै नाम चलेका बैंकर किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल प्रसाद ज्ञवालीको नाम आउँछ । हाल उनी कर्जा अपचलन गरेको बैंकिङ कसुरमा दोषि ठहर भई हाल जेल सजाय काटिरहेका छन् । उनलाई पुनरावेदन अदालतले दोषि ठहर गरि ३ वर्ष जेल र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

कमल ज्ञवाली बैंकिङ कसूरमा परेपछि किष्टमा समस्या आयो । र, किष्टलाई प्रभु विकास बैंकले गाभेर प्रभु बैंकको नाममा सञ्चालन गर्यो ।

प्रभु फाइनान्सबाट स्तरोन्नति भएर विकास बैंक बनेको हो । प्रभु फाइनान्सले समृद्धि विकास बैंक र वैभव फाइनान्सलाई गाभेर प्रभु विकास बैंक बनेको थियो । प्रभु विकास बैंकले गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स पनि मर्ज गर्यो ।

त्यति मात्र होइन किष्टलाई गाभेको केही वर्ष नबित्दै प्रभु बैंकले ग्राण्ड बैंकलाई पनि आफुमा गाभ्न सफल भयो । यसरी फाइनान्सको रुपमा स्थापना भएको २ वटा फाइनान्स, २ वटा विकास बैंक र २ वटा वाणिज्य बैंकलाई गाभेर प्रभु बैंक बनेको हो ।

तत्कालिन प्रभु फाइनान्सका सिइओ अशोक शेरचन प्रभु विकास बैंक र प्रभु बैंक हुँदासम्म सिइओको रुपमा कार्यरत छन् । शेरचनको नेतृत्व र सक्रिय सहभागितामा अन्य आधा दर्जन संस्थालाई प्रभुले आफुमा गाभ्न सफल भयो । अर्को कार्यकालका लागि पनि शेरचनलाई संचालक समितिले सिईओको रुपमा निरन्तरता दिएको छ ।

तत्कालिन ग्राण्ड बैंकको स्थापनाकालदेखि नै सिईओ रहेका सुधिरबाबु खत्रीले छोडेको केही समयपछि ग्राण्डलाई प्रभुले एक्वायर गरेको थियो । उक्त समयमा जनता बैंकको सिईओ पद छोडेर ग्राण्ड बैंकको डेपुटी सिइओ बन्न पुगेका विजय पन्त कामु सीइओ थिए । सीइओ पर्शुराम कुवँर क्षेत्रीले राजिनामा दिएर हिडेपछि डेपुटी सीइओ पन्त कामु सीइओ थिए । तत्कालीन ग्राण्डका सीइओ खत्री बैंकिङ छाडेर केही समय अमेरिका बसे । अहिले नेपाल फर्केर रेस्टुराँ व्यवसाय र कन्सल्ट्यान्टको काम गरिरहेका छन् ।

त्यसैगरी, तत्कालिन नेपाल इन्ड्रष्टियल एण्ड कमर्शियल बैंक (एनआइसी) र बैंक अफ एशिया आपसमा मर्ज भएर एनआइसी एशिया बैंकको नाममा सञ्चालन भइरहेको छ । बैंक अफ एशियाका सीइओ पर्शुराम कुवँर क्षेत्री हाल जनता बैंकको सीइओ छन् । जनता बैंक र ग्लोबल आइएमई बैंक पनि मर्ज हुँदैछन् । यही मंसिर २० गते अर्थमन्त्री डा. युवराज खतिवडाले यी दुई बैंक मर्ज भएर बन्ने ग्लोबल आइएमइ बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्ने कार्यतालिका छ । मर्जपछि ग्लोवलको सीइओ कुवँर नै हुनेछन् ।

ग्लोबल आइएमइ बैंकले, आइएमइ फाइनान्सियल इन्टिच्युसन, लर्डबुद्ध फाइनान्स, सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, हाथवे फाइनान्स र रिलायबल डेभलपमेन्ट बैंकलाई आफुमा मर्ज तथा एक्वार गराएको थियो ।

कमर्ज एण्ड ट्रष्टका सीइओ अनलराज भट्टराई बैंक मर्जपछि बैंकिङ क्षेत्रबाट बाहिरिएका छन् । अहिले उनी नेपाल उद्योग परिसंघमा बैंकिङ विज्ञको रुपमा कार्यरत छन् ।

जनता बैंकले पनि सिद्धार्थ डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकलगायतलाई मर्ज गरिसकेको छ ।

हाल ग्लोबल बैंकमा कामू सीइओको रुपमा कार्यतर महेश ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका सीइओ थिए । टुरिज्म डेभलपमेन्ट बैंक मेगा बैंकमा मर्ज भइसकेको छ । टुरिजमले मातृभूमि विकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंक एक्वायर गरेको थियो ।

मेगा बैंकले पुनः राष्ट्रियस्तरको गण्डकी विकास बैंकलाई एक्वायर गर्ने सहमति गरिसकेको छ । गण्डकीले पनि २ वर्ष अगाडि पोखराका विश्व विकास बैंक र फेवा फाइनान्स मर्जर भएर बनेको फेवा विकास बैंकलाई मर्ज गरेको थियो ।

त्यसैगरी, तत्कालिन लुम्बिनी बैंक ३ वर्षअघि बैंक अफ काठमाण्डू आपसमा मर्ज भई बैंक अफ काठमाण्डू लुम्बीनीका नाममा सञ्चालनमा आयो ।

तत्कालीन लुम्बीनी बैंकका सीइओ शोभनदेव पन्त केही समय बाहिरिए भने तत्कालीन बैंक अफ काठमाण्डूका सीइओ अजय श्रेष्ठ मर्जपछि सीइओ भए । मर्ज भएको केही समयपछि कार्यकाल पूरा नहुँदै राजिनामा दिएर अजय श्रेष्ठ बाहिरिए । अनि सीइओको रुपमा पन्तको इन्ट्री भयो । उनी हालपनि सीइओको रुपमा कार्यरत छन् । मर्ज भएको केही समयपछि बैंकको साधारणसभाले नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू राखेको थियो ।

बीओकेसँग मर्ज हुनुभन्दा अघि लुम्बिनी बैंकले नव दुर्गा फाइनान्सलाई मर्ज गरेको थियो ।

बैंकिङ क्षेत्रलाई माया मार्ने बैंकरमा तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीइओ मनोज गोयल, तत्कालिन इन्टरनेश्नल डेभलपमेन्ट बैंकका सीइओ राजाराम खड्का लगायत छन् ।

क्लिन इनर्जी एनएमबिमा मर्ज भएपछि गोयल एनएनबी बैंकमा नै १ वर्ष सञ्चालक भएर बसे । त्यसपछि भने गोयलले बैंकिङ करियरलाई नै त्यागेर हाल विद्युतिय सवारी चार्जिङ स्टेसन वुथ बनाउनतर्फ अग्रसर रहेका छन् ।

खड्का भने हाल सिमेन्ट उद्योगमा लागेका छन् । तत्कालिन इन्टरनेश्नल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्जर भएको थियो । बैंक मर्ज भएपछि केही साथीहरुसँगको सहकार्यमा खड्काले शुभ लक्ष्मी सिमेन्ट उद्योग स्थापना गरि प्रवन्ध निर्देशकका रुपमा कम्पनीमा कार्यरत छन् ।

एनएमबी बैंकले ४ वटा विकास बैंक र १ वटा फाइनान्स कम्पनीलाई एकै पटक मर्ज गरेको थियो । एनएमबीमा मर्ज हुनेमा भृकुटी डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, पाथीभारा डेभलपमेन्ट बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स हुन् ।
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याइसके पनि एनएमबीले पछिल्लो समय राष्ट्रियस्तरको दरिलो विकास बैंकलाई मर्ज गरेको छ । विकास बैंकहरु मध्येमा राम्रो व्यवसायीक सफलता हासिल गरिरहेको भनिएको तत्कालिन ओम डेभलपमेन्ट बैंकलाई एनएमबीले ०७६ असोजमा मर्ज गरि एकिकृत कारोबारसमेत शुरु गरिसकेको छ ।

एनएमबीमा मर्ज हुनुअघि ओम डेभलपमेन्ट बैंकमा विश्व मोहन अधिकारी सीइओ थिए । सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्ज भएर ओम डेभलपमेन्ट बैंक बनेको थियो । तत्कालिन सिटी डेभलपमेन्ट बैंकका सीइओ अधिकारी मर्जपछि ओम डेभलपमेन्ट बैंकका सीइओ भए भने ओम फाइनान्सका तत्कालीन सीइओ वुद्धि मल्ल मर्जपछि डेपुटी सीइओ भएर काम गरे ।
अधिकारी हाल बैंकिङ क्षेत्रबाट टाढा छन् । राष्ट्र बैंकले तोकेको कुलिङ पिरियड सकाएर उनी पुनः बैंक अथवा बीमा क्षेत्रमा फर्किने योजनामा रहेका छन् ।

नारायणी फाइनान्स र नेशनल फाइनान्सबीचको मर्जरलाई स्वतस्फूर्तरुपमा भएको नेपालको पहिलो मर्जरका रुपमा लिइन्छ । उक्त मर्ज गराउनमा सक्रिय उमेशसिंह भण्डारी हुन् । मर्जपछि नारायणी नेशनल फाइनान्समा भण्डारी सीइओ भएर काम गरे । त्यसपछि नारायणी नेशनल  फाइनान्स  सनराइज बैंकमा गाभियाे । भडारी स्ट्यान्डर्ड फाइनान्समा पनि सीइओ भए ।

त्यसको केही समयपछि माछापुच्छ्रे बैंकले स्ट्यान्डर्ड फाइनान्स गाभ्यो । भण्डारी माछापुच्छ्रेमा एजीएमको रुपमा काम गरे । तर, केही समयमै पदबाट राजिनामा दिएर । काष्ठमाण्डप डेभलपमेन्ट बैंकका सीइओ भए । तत्कालीन काष्ठमाण्डपले शिखर फाइनान्स, पशिचमाअञ्चल फाइनान्स लगायतलाई गाभेको थियो । तर, काष्ठमण्ड धेरै समय टिक्न सकेन । र, कुमारी बैंकमा मर्ज भयो । भण्डारी हाल कुमारी बैंकमा डेपुटी सीइओको रुपमा कार्यरत छन् ।

काष्ठमण्डपमा गाभिएपछि तत्कालीन शिखर फाइनान्सका सीइओ उमेश रेग्मी केही समय काष्ठमण्डपमै डेपुटी सीइओ भएर काम गरे । अहिले उनी लुम्बीनी विकास बैंकको डेपुटी सीइओ छन् ।

तत्कालीन क्षेत्रीयस्तरका सांग्रिला डेभलपमेन्ट बैंक र बागेश्वरी डेभलपमेन्ट बैंक गाभिएर राष्ट्रियस्तरको सांग्रिला डेभलपमेन्ट बैंक बन्यो । तत्काली बागेश्वरीका सीइओ राजेन्द्र पौडेल सांग्रिलाका सीइओ भए भने सांग्रिलाका सीइओ दिनेश थकाली मर्जपछि डेपुटी सीइओ भएर काम गरे ।

पौडेल आफ्नो कार्यकाल सकाएर सांग्रिलाबाट बाहिरिसकेका छन् । उनीले नयाँ बिजनेश शुरु गरिसकेका छन् भने डेपुटी सीइओ थकाली सांग्रिला छाडेर प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतको रुपमा १६ महिनादेखि कार्यरत छन् ।

तत्कालीन एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले गाभ्यो । र, एसका सीइओ सुयोग श्रेष्ठ बाहिरिए । श्रेष्ठ केही समय बैंकिङ क्षेत्रभन्दा बाहिर बसे । १६ महिनादेखि उनी सांग्रिला डेभलपमेन्ट बैंकमा सीइओ भएर काम गरिरहेका छन् ।

त्यसैगरी, पोखराको तत्कालीन बिजनेश डेभलपमेन्ट बैंकका सीइओ कृष्णराज पराजुली पनि बैंक मर्जपछि बैंकिङ क्षेत्र नै छाडेर बसे । बिजनेश डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स आपसमा गाभिएर बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक बनेको थियो । त्यसबेलासम्म पनि पराजुली सीइओ नै थिए । तर, जब बिजनेश युनिभर्सललाई सिद्धार्थ बैंकले गाभ्यो । तब पराजुलीले बैंकिङ क्षेत्र छाडे ।

मर्जर तथा एक्वायरमा सामेल भएका बैंक र फाइनान्स कम्पनीहरुको केही सीइओहरु हाल बैंकिङ क्षेत्र छोडेर बीमा कम्पनीहरुमा सीइओ पद सम्हालेर बसेका छन् । तत्कालिन इफाइस्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि बैंकका सीइओ कमलराज गौतम हाल एभरेष्ट्र इन्सोरेन्सको सीइओ छन् ।

एनसीसी बैंकमा तत्कालिन इफाइस्ट्रक्चर डेभलपमेन्ट बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकलाई मर्ज गरेको थियो ।

यस्तै, बैंकिङ करियर छोडेर बीमा क्षेत्रमा संलग्न हुनेमा तत्कालिन रिलायवल डेभलपमेन्ट बैंकका सीइओ नारायण बाबु लोहोनी पनि हुन् । रिलायवल डेभलपमेन्ट बैंक ग्लोबल आइएमइ बैंकमा एक्वायर भएको केही समयपछि लोहोनी रिलायबल लाइफ इन्सोरेन्समा सीइओ छन् ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकमा मर्ज भएको तत्कालिन महालक्ष्मी फाइनान्सका सीइओ रमेश कुमार भट्टराई पनि हाल बीमा क्षेत्रमा छन् । तत्कालिन महालक्ष्मी फाइनान्स महालक्ष्मी विकास बैंकमा मर्ज भएपछि उनी बैंकमा नै सिइओको पदभार सम्हालेर बसेका थिए । महालक्ष्मी विकास बैंकमा भट्टराई ५ वर्ष सिइओ पदम कार्यरत रहेर काम गरेका थिए ।

महालक्ष्मी विकास बैंकमा आफ्नो कार्यकाल सकाएर उनी नेपाल लाईफ इन्सोरेन्समा २ वर्ष र एशियन लाईफ इन्सोरेन्समा ५ वर्ष सिइओको पद भार सम्हाली सकेका भट्टराई हाल महालक्ष्मी लाईफ इन्सोरेन्समा सीइओकोरुपमा कार्यरत रहेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स