बाइक र गाडीको एसेम्बल प्लान्ट स्थापनामा विदेशीको चासो, सवा अर्ब लगानी गर्ने प्रतिवद्धता



काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन सञ्चालनको नीति ल्याएसँगै नेपालमै इलेक्ट्रिक स्कुटर, मोटर बाइक तथा रिक्सा एसेम्बल गर्नका लागि विदेशी कम्पनीहरुले चासो देखाएका छन् ।

उद्योग विभागका १० वर्षको अवधिमा इलेक्ट्रिक स्कुटर, बाइक तथा रिक्सा एसेम्बलिङ प्लान्ट स्थापना गर्नका लागि २२ वटा कम्पनीले सवा अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिवद्धता आइसकेको छ ।

उद्योग विभागका अनुसार डेढ वर्षमा मात्रै ७ वटा विदेशी कम्पनीले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्नका लागि चासो देखाएका छन् ।

साथै, २०६५ सालदेखि यता २२ वटा विदेशी कम्पनीले इलेक्ट्रिक स्कुटर, बाइक, रिक्सा, जिप तथा कार स्थापना गर्नका लागि चासो देखाएका छन् ।

उद्योग विभागका अनुसार सबैभन्दा बढी चीनबाट यस्ता उद्योगमा लगानीका लागि प्रतिबद्धता आएको हो ।

जसमा टु ह्विलरका रुपमा इलेक्ट्रिक स्कुटर र बाइक र थ्री ह्विलर रिक्सा एसेम्बलिङ गर्न प्लान्ट स्थापना गर्ने कम्पनीको संख्या धेरै छ । चीनले मात्रै यस अवधिमा १ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइ सकेको छ ।

सबै कम्पनीमा गरी ८८१ जनाले रोजगारी पाउनेछन् ।

नेपालमा यसअघि पनि सवारी साधन उत्पादन नभएको होइन । यसअघि डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेलामा चढेको मुस्ताङ म्याक्स नेपालमै एसेम्बल भएको थियो । साथै, कस्मिक ब्राण्डको मोटरबाइक पनि नेपालमै एसेम्बल भएको थियो ।

तर अहिले ती उत्पादन बन्द छन् । अहिले गोल्छा अर्गनाइजेसनले नेपालमै बजाज ब्राण्डका केही बाइक एसेम्बल गर्दै आएको छ । उद्योग विभागका अनुसार यस्तो प्लान्ट स्थापना गर्नका लागि चीन बाहेक भारत, इटली र दक्षिण कोरियाबाट चासो देखाएका छन् ।

एकातिर सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन लागी परेको छ । अहिले नेपालमा विद्युतको आपूर्ती बढ्दो क्रममा छ । लोडसेडिङ हटिसकेको अहिलेको समयमा १२ सयभन्दा बढी मेगावाट विद्युत उत्पादन भइरहेको छ । भने आगामी वर्ष थप १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विद्युत प्राधिकरणले बढी उत्पादन हुने विद्युत खपतका लागि खाना पकाउने एलपी ग्याँसको विकल्पमा इन्डक्सन चुल्हो प्रयोग गर्न र पेट्रोलियम पदार्थको साटो इलेक्ट्रिक सवारी चलाउनका लागि आग्रह गरिसकेको छ ।

ठूला सवारी साधनमा समेत सुन्दर यातायातले प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके चाइनिज कम्पनीको सहकार्यमा सुन्दर यातायातले एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो ।

कम्पनीले रुपन्देहीको मोतिपुरमा प्लान्ट स्थापना गर्नका लागि १२ विघा क्षेत्रफल हुने र त्यसका लागि कम्पनी स्थापना गरिसकेको जानकारी दिएको छ । जसमा १ अर्ब लगानी रहने र त्यसो हुँदा १३ लाख ढुवानी खर्च जोगिने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु