नेपालमा भित्रिए हार्ले डेभिड्सनका सस्ता मोटरसाइकल, कति पर्छ मूल्य ?




काठमाडौं । हार्ले डेभिड्सनको इन्ट्रि लेवल मोटरसाइकल नेपाल भित्रिएको छ । हार्ले डेभिड्सन काठमाडौंको शोरुम गैह्रीधारामा उक्त मोटरसाइकल आइपुगेको हो । हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्र्तगत स्ट्रीट ७५० र स्ट्रीट रड ७५० नेपाली बजारमा भित्रिएको हो ।
आइएमई ग्रुप अन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो । यसअघि कम्पनीले आइरन ८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । ७५० सीसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ । स्ट्रीट ७५० र स्ट्रीट रड ७५० । हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्ट्रीट ७५० र स्ट्रीट रड ७५० मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४ भल्भ ७४९ सीसी इन्जिन रहेको छ । स्ट्रीट ७५०को इन्जिनले ५९ एनएम टर्क तथा ५३ बीएच पावर जेनेरेट गर्छ । यस्तै स्ट्रीट रड ७५०को इन्जिनले ६३ एनएम टर्क जेनेरेट गर्छ । यी दुवै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

स्ट्रीट रड ७५० को लम्बाई २१३१ एमएम, सिट हाइट ७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८ एमएम रहेको छ । स्ट्रीट रड ७५० को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६० एमएमको सिगंल डिस्क ब्रेक रहेको छ ।

यस्तै स्ट्रीट ७५० को लम्बाई २२१४ एमएम, सिट हाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ । स्ट्रीट ७५० को फ्रन्टमा २९२ एमएम र रियरमा २६० एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ ।

यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियर ड्रप फ्यूल ट्याङक, बार–इन्ड मिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटर जस्ता बिशेषता रहेका छन् ।

स्ट्रीट भर्जन नेपालमा उपलब्ध हार्ले मोटरसाइकलहरुमध्ये सबैभन्दा कम मुल्य को हो । विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ । नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५० को सुरुवाति मूल्य २७ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु