३७ वर्षे यात्रामा मारुती सुजुकीले बेच्यो २ करोड गाडी, नेपालमा पनि सँधै फस्ट




काठमाडौं । भारतको सबैभन्दा ठूलो गाडी निर्माताका रुपमा परिचित मारुती सुजुकीले स्थापना भएको ३७ वर्षमा करिब २ करोड गाडी बिक्री गरेको छ ।

कम्पनीले सन् १९८३ को डिसेम्बरबाट गाडी बिक्री शुरु गरेको थियो । कम्पनीले सबैभन्दा पहिले बजारमा ल्याएको कार थियो मारुती ८०० जुन सन् १९८३ को डिसेम्बर १४ मा सार्वजनिक भएको थियो ।

१ करोड थान गाडी बिक्री गर्न २९ वर्ष खर्चेको मारुती सुजुकीले थप १ करोड गाडी जम्मा ८ वर्षमा बेचेको थियो जसमध्ये ५० लाख गाडी केबल ३ वर्षका अवधिमा बिक्री भएका थिए ।

आर्थिक वर्ष १९९५ सम्म कम्पनीले १० लाख गाडी बिक्री गरेको थियो भने उक्त संख्या आर्थिक वर्ष २००६ मा ५० लाख पुगेको थियो । कम्पनीले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०१२ मा गाडी बिक्री संख्या १ करोड र सन् २०१७ मा १ करोड ५० लाख पुगेको थियो । अहिले आर्थिक वर्ष २०२० उक्त संख्या बढेर २ करोड पुगेको हो ।

मारुती सुजुकीले २ करोड वटा गाडी बिक्री गर्दा सर्बाधिक बिक्री हुने गाडी कुन–कुन हुन त ? 

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्वाधिक बिक्री हुने गाडीको सूचीमा मारुती अल्टो पहिलो स्थानमा छ । ३१ लाख ७० हजार थान बिक्री भएको मारुती अल्टो पहिलो स्थानमा छ भने २९ लाख १० हजार बिक्री संख्या रहेको मारुती ८०० दोस्रो स्थानमा छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको वागेन आरको बिक्री संख्या २१ लाख ३० हजार छ । चौथो र पाँचौ स्थानमा मारुती ओम्नी र मारुती स्वीफ्ट रहेका छन् । यी दुबै गाडीको बिक्री संख्या समान १९ लाख ४० हजार रहेको कम्पनीले जनाएको छ ।

मारुती सुजुकी प्यासेन्जर भेइकल सेग्मेन्टमा भारतको मार्केट लिडर हो । अहिलेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार कूल बजारको ४९.६० प्रतिशत बजारहिस्सा मारुती सुजुकीले ओगटेको छ ।

बजार हिस्साको हिसाबले दोस्रो स्थानमा रहेको हुण्डाईले कूल बजारको १८ प्रतिशत मात्र ओगटेको छ ।

नेपालमा पनि बजार हिस्साको हिसाबले सबैभन्दा बढी मारुती सुजुकी सबैभन्दा बढी बिक्री हुने कार हो । ५ वर्षमा करिब २० हजार कार मारुती सुजुकीले नेपालमा बिक्री गरेको छ ।


क्लिकमान्डु