हिमालयन डिस्टिलरीको सेयर मूल्यमा उछाल, लगानीकर्ता भए मालामाल



काठमाडौं । हिमालयन डिस्टिलरीको सेयर मूल्यमा एकाएक उछाल देखिन थालेको छ । कम्पनीले अन्यको तुलनामा राम्रो लाभांश दिएका कारण कम्पनीले लगानीकर्ताको ध्यान तानेको हो ।

एक महिनाको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१९ रुपैयाँले बढेको छ ।

असोज २७ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४६१ रुपैयाँ थियो । बुधबार १ हजार ७८० रुपैयाँ कायम भएको छ । अन्य कम्पनीको दाँजोमा हिमालयन डिस्टिलरीको सेयर मूल्य बढ्दा पनि ठूलो रकमले बढ्ने र घट्दा पनि धेरै रकमले घट्ने गरेको छ ।

सोमबार कम्पनीले लगानीकर्तालाई १०२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसले गर्दा हिमालयन डिस्टिलरीमा लगानीकर्ताको ध्यान गएको छ । आइतबार (२४ गते)अघि सामान्य उतारचढावमै पनि ८९ अंकले बढेको सेयर मूल्य त्यसयता अपत्यारिलो रुपमा बढेको हो ।

आइतबार कम्पनीको सेयर मूल्य १ हजार ५५५ रुपैयाँ थियो । त्यसको भोलिपल्ट नै प्रतिकित्ता १५५ रुपैयाँले बढेर १ हजार ७१० रुपैयाँ पुग्यो । जुनदिन कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५२.६३ प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको ५० प्रतिशत बोनस दिने निर्णय गरेको थियो । सेयर मूल्यमा उक्त निर्णयको प्रभाव समेत देखियो ।

आइतबार १ हजार ५५५ रुपैयाँ कायम रहेको कम्पनीको सेयर मूल्य सोमबार बढेर १ हजार ७१० रुपैयाँ पुगेको थियो । मंगलबार पनि कम्पनीको सेयर मूल्य बढने क्रम रोकिएन । मंगलबार प्रतिकित्ता १२९ रुपैयाँले बढेर १ हजार ८३९ रुपैयाँ पुग्यो ।

तर बुधबार भने कम्पनीको सेयर मूल्यमा ५९ अंकको गिरावट देखिएको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ अंकले घट्दा पनि सेयर मूल्य एक महिनामा ३१९ रुपैयाँले बढेको छ ।


क्लिकमान्डु