निजगढ–काठमाडौँ द्रुतमार्गको २५ किलोमिटर कालोपत्रे गरिँदै



काठमाडौं । आशातित रुपमा अगाडि बढ्न नसकेको भन्दै आलोचना खेपिरहेको निजगढ–काठमाडौँ द्रुतमार्गको केही भाग कालोपत्रे गर्ने तयारी गरिएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको सो आयोजना ४ वर्षमा पूरा गर्ने गरी जिम्मा दिइएको थियो ।

सेनालाई जिम्मा दिइएको पनि २ वर्ष पूरा भइसकेको छ । बाँकी रहेको २ वर्षमा काम पूरा हुने हो वा होइन भन्नेमा आशंका रहीरहेको बेला सेनाले कालोपत्रेका लागि तयार भएको द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएको २५ किलोमिटर क्षेत्रमा तत्काल कालोपत्र गर्ने तयारी गरिएको छ ।

यस्तै सो मार्गको नाला, पर्खाल तथा अन्य संरचना समेत द्रूत गतिमा निर्माण गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने गरी तयारी थालेको छ ।

नयाँ अवधारणाअनुसार सेना आफैले ३ वटा सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्य पुल आफै निर्माण गर्ने तयारी गरेको छ ।

आयोजनाको संयोजक भरत खड्काले तयार भएको खण्डमा विशेष गरी कालोपत्रे गर्ने तयारी गरिएको छ ।

आयोजनाको काम अगाडि बढेको र यसले गति समेत पाएकाले छिट्टै आयोजनाको एउटा स्वरुप देखिने खडकाले बताए । खडकाका अनुसार निजगढदेखि ८ दशमलव ५ किलोमिटर उत्तरतर्फ पहिलो चरणमा सडक कालोपत्र गरिनेछ ।

यस्तै, कल्भर्ट र पुल निर्माण पनि अगाडि बढ्नेछ । सेनाले सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम गरिरहेको छ । सो काम सकेपछि सेनाले ४ लेनलाई चिरा पारेर २ लेनको बनाउने तथा फेरी ४ लेनसँगै जोड्ने साथै चोभारदेखि बाग्मतीसम्म फिलिङ, कटिङसँगै कालोपत्र गर्ने तयारी छ ।

चार वर्षभित्र निर्माणको सम्पूर्ण काम सक्ने सर्तमा २०७४ साउन २७ मा द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिइएको थियो ।

सर्तअनुसार सेनाले २०७८ साउन २७ भित्र द्रुतमार्ग निर्माणको सम्पूर्ण काम सक्नुपर्नेछ । अहिले ५४ दशमलव ५१ किमी सडकमा फिलिङ, कटिङ, पर्खाल र जमिन बाँध्ने काम भइरहेको सेनाले जनाएको छ ।


क्लिकमान्डु