रुप ज्योति पक्राउको विषयमा नाडाले भन्यो- पक्राउले निजी क्षेत्र हतोत्तसाही भयो



काठमाडौं । प्रतिष्ठित व्यापारी डा. रुप ज्योति र उनकी छोरी सुरुची ज्योति पक्राउ परेको विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार नाडाका महासचिव सुनिल रिजालले जारी गरेको विज्ञप्तीमा प्रतिष्ठित उद्योगपति संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष ज्योति तथा उनकी पुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको गिरफ्तारीप्रति एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोबारमा उत्पन्न हुने विवाद समाधान देवानी दायित्वअन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बैकल्पिक मार्ग हुँदाहुँदै गम्भीर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यले समग्र निजी क्षेत्र हतोत्साहित भएको छ ।’

जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम २ पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकम समेत राखी सकिएको अवस्थामा नीजहरुलाई थुनेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको नाडाको भनाइ छ ।

साथै, छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिँदा समग्र व्यावसायिक क्षेत्र सशंकित भएको भन्दै नाडाले जे जस्तो अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्न गरी सम्मानित अदालतमा पेस गरी न्यायका लागि मार्ग प्रशस्त गरिदिने व्यवस्थाका लागि गृह प्रशासन समक्ष हार्दिक निवेदन गरेको छ ।

यस मुद्दामा डा. रुप ज्योतिका दाई तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पद्य ज्योतिलाई सोमबार जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले रुप ज्योति र उनकी छोरीलाई दोस्रो पटक म्याद थपेको थियो । पहिलो पटक ३ दिन म्याद थप गरिएकोमा आइतबार थप ५ दिनका लागि म्याद थप गरेको थियो ।

रुप ज्योति र छोरी सुरुचीलाई हाउजिङ व्यवसायमा ठगी गरेको आरोपमा गत बिहीबार सिंगापुरबाट फर्कर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।


क्लिकमान्डु