समाजिक सुरक्षा कोषमा ५ लाख श्रमिक थपिँदै, मन्त्री भन्छन्–कसैलाई अतिरिक्त करको भार पर्दैन



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य विषय भएकाले सबै सहकारी र सहकारीमा काम गर्ने श्रमिकहरुलाई सहभागी गराउन पहल गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

सोमबार श्रम मन्त्री बिष्ट र सहकारी सस्थाका प्रतिनिधीबीच सामाजिक सुरक्षा कोष मन्त्री निवास पुलचोकमा छलफलमा उनले संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै सहकारी समयसीमा भित्रै सहज सहभागी हुने अपेक्षा राखेको उनले बताए ।

सहकारीसहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरी पहल गरिरहेको उनको भनाइ छ ।

‘तत्काल गर्न सकिने विषयलाई सम्बोधन गरिनेछ’ उनले भने, ‘अन्यलाई आगामी बजेटबाट सम्बोधन गरिनेछ ।’

सामाजिक सुरक्षा कोषमा सहकारी क्षेत्रमा कार्यरत ५ लाख कर्मचारी आवद्ध हुँदैछन् । मुलुकभर सञ्चालनमा रहेका २० हजार सहकारी संघसंस्थाका प्रतिनिधीले प्रत्यक्ष रोजगारीमा रहेका कर्मचारीलाई कोषमा आवद्ध गराउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट समक्ष प्रतिवद्धता व्यक्त गरेका हुन् ।

छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, साना किसान सहकारी संघका सञ्चालक सहित पदाधिकारी तथा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली सहभागी थिए ।

छलफलमा सहकारी संघसंस्थाका पदाधिकारी टोलीले सरकारको अभियानमा पूर्ण साथ र समर्थन गर्ने प्रतिवद्धता गरेका छन् । त्यसका लागि देशैभर रहेका प्रशिक्षकलाई पहिला प्रशिक्षित गर्ने र त्यसका लागि कोषको सहयोग आवश्यक पर्ने उनीहरुको भनाइ छ ।

त्यसअघि मन्त्री विष्टले बिहीबार नेपाल बैंकर संघ, शुक्रबार गैर सरकारी संघ सस्था, उपभोक्ता महासंघ र आइतबार, एन– प्याब्सनका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।


क्लिकमान्डु