रुप ज्योति पक्राउमा पहलको ध्यानाकर्षण, भन्यो-थुनेरै अनुसन्धान गर्नुपर्ने मुद्दा होइन



काठमाडौं । उद्योगपति तथा पूर्व अर्थ राज्यमन्त्री डा. रुप ज्योति र छोरी सुपुत्री सुरुची ज्योतिलाई ठगी अभियोगमा पक्राउ परेको विषयमा राष्ट्रिय व्यवसायिक पहलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

हाउजिङ व्यवसायमा ठगी गरेको भन्दै रुप ज्योति र छोरीलाई गत बिहीबार प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

राष्ट्रिय व्यवसायिक पहलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जाहेरीमा उल्लेखित व्यहोरा बमोजिम २ पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भइ सम्मानित अदालतमा धरौटी रकम समेत राखिसकिएको बुझिँदा सो आधारमा नीजहरुलाई थुनेरै अनुसन्धान गर्नुपर्ने गम्भीर प्रकृतिको ठगी मुद्दा हो भन्ने लाग्दैन । यस्तो सामान्य व्यहोरालाई अनुसन्धान छिटो टुंगाएर सम्मानित अदालत समक्ष पेश गर्न यस पहलको तर्फबाट गृह प्रशासन समक्ष पटकपटक अनुरोध गर्दा गर्दै पनि हिजो फेरि म्याद थपको लागि सम्मानित अदालत लैजानुले थप शंकाको वातावरण सिर्जना भएको छ ।’

विज्ञप्तीमा यसरी छिटो टुंगोमा पुग्न सकिने लेनदेनको बिषयबस्तुमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिँदा यस कार्यबाट समग्र व्यवसायिक जगत सशंकित भएको छ, मनोवल गिरेको उल्लेख छ ।

पहलले जे अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्न गरी सम्मानित अदालतमा पेस गरी न्याय इन्साफको लागि मार्ग प्रशस्त गरिदिन गृह प्रशासन समक्ष हार्दिक अनुरोध गरेको छ ।
व्यापारी ज्योतिलाई आइतबार दोस्रो पटक ५ दिनका लागि म्याद थप गरिएको थियो ।

राष्ट्रिय व्यवसायिक पहलको प्रेस विज्ञप्ती


क्लिकमान्डु