सिमाना रक्षाको लागि विदेशमा रहेका सबै नेपाली प्रतिबद्धः अध्यक्ष पन्त



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि सरकारको साथमा उभिन सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध रहने जनाएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा देखाएको प्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

पन्तले विज्ञप्ति जारी गर्दै‘ भारतको कामबाट विश्वभर छरिएर रहेका नेपालीहरुको मन दुखेको जनाएका छन् । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको एनआरएनएले भत्सर्ना गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु