टुँडिखेल खुला गर्नुपर्छः मेयर शाक्य
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शंखधर उद्यानमा शंखधरको शालिक निर्माण गर्ने प्रक्रियालाई महानगपालिकाले अघि बढाएको बताएका छन् ।
शंखधर दिवसको अवसरमा काठमाडौँ महानगरको वडा नम्बर-१५ स्थित लखतिर्थमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन ।
‘शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधरको शालिक निर्माणका लागि महानगरपालिकाले बजेट छुट्याएको छ,’ उनले भने, ‘शंखधरको शालिक निर्माणमा उहाँको तस्बिरमा एक रुपता कायम होस् भनी त्यो तयारीमा पनि महानगरपालिका जुटेको छ ।’
मेयर शाक्यले शंखधर राष्ट्रिय विभूति भएको स्मरण गराउँदै उहाँको सम्झनामा तखतिर्थमा पुर्ननिर्माणका लागि खरिद प्रक्रिया अघि बढाई सकेको पनि जानकारी दिए । उनले त्यहाँको छेकवारका लागि करीब पाँच लाख बजेट महानगरले दिएको बताए ।
स्वयम्भू नजिकबाट बगेर आएको पानी लखतिर्थबाट विष्णुमतिमा मिसिएको र त्यहाँको बालुवामा सुन भेटिएपछि त्यसलाई शंखधरले सबैको साझा बनाएपछि उहाँको सम्झनामा लखतिर्थको ढुंगामा उहाँको मुर्ति बनाई सम्मान गरेको इतिहास छ ।
मेयर शाक्यले शंखधर दिवसकै अवसरमा काष्ठमाण्डप सामूदायिक अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा शंखधरको स्मरण गरेका छन् ।
कार्यक्रममा शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’लाई राजनीतिक रंङ नदिन आग्रह गरेका छन् । ‘अकुपाईँ टुँडिखेल अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी आएको छ’,उनले भने, ‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि हो । तर, अभियानको बाहनामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन ।’
हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफुले पनि सक्दो प्रयास गर्ने भन्दै टुँडिखेलमा राजनीति नगर्न आग्रह समेत गरे । उनले नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानप्रति संकेत गर्दै भने ‘आफु रक्षामन्त्री रहेका बेला सेनालाई संरचना निर्माण गर्न अनुमति दिने अनि अहिले सरकारमा नभएको मौका छोपेर टुँडिखेल मिचियो भन्दै हल्ला गर्ने कुरा राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन । दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको र ती संरचनाका निर्माण पूरा भएपछि खुलामञ्च खाली हुने बताए ।
मेयर शाक्यले संरचना निर्माण भएसँगै खुलामञ्च खाली हुने भएपछि त्यसको जस लिने होडबाजीमा अभियान सञ्चालन गरिएको त होइन भनी आशंका समेत व्यक्त गरे । उनले आफु काठमाडौँ महानगरको स्थायी बासिन्दा भएको भन्दै मेयरको पद अस्थायी भएकाले महानगरवासीको हितलाई सर्वोपरी ध्यानमा राखेर काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
‘काठमाडौँ महानगरपालिका धुलो–धुवा मुक्त र हरियालीयुक्त महानगरको अभियानमा छ’, उनले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने क्रममा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो । म मेयर निर्वाचित हुनु भन्दा अघि नै त्यहाँ बसपार्क थियो । त्यहि बसपार्कमा अस्थायी रुपमै सामान्य मर्मत गर्दा त्यहाँ पनि महानगरपालिकाले स्थायी बसपार्क बनायो भनेर ठूलो हो–हल्ला गर्ने काम भयो । महानगरपालिका टुँडिखेललाई स्थायी बसपार्क बनाउने अभियानमा हिजो थिएन, आज छैन र भोलि पनि रहने छैन । त्यहाँ पनि सांसद्कै नेतृत्वमा हो–हल्ला गरेर राजनीति गर्ने प्रयास भयो ।’